नाडा अटो शो २०२६ मा बीवाईडी उत्कृष्ट स्टल घोषित, विद्युतीय सवारीको आकर्षणले तान्यो दर्शक

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको अटो शोमा विद्युतीय सवारीसाधनको क्षेत्रमा अग्रणी ब्रान्ड बीवाईडी (BYD) विशेष आकर्षणका रूपमा देखिएको छ।

    यस वर्षको नाडा अटो शोमा उत्कृष्ट स्टलको उपाधिसमेत साइमेक्स इन्क प्रालिले प्रतिनिधित्व गरेको बीवाईडीले चारपांग्रे प्यासेन्जर कारतर्फ प्राप्त गरेको छ। आकर्षक स्टल डिजाइन, आधुनिक विद्युतीय सवारीसाधन तथा दर्शकको उल्लेख्य आकर्षणका कारण बीवाईडीको उपस्थिति अटो शोमा विशेष चर्चाको विषय बनेको थियो।

    भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको अटो शोमा २०० भन्दा बढी स्टल राखिएका थिए। प्रदर्शनीमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, बैंक तथा वित्तीय सेवा र बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिएको थियो।

    नाडाका अनुसार प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक तथा वित्तीय संस्था एवं बीमा सेवा प्रदायकको सहभागिता रहेको थियो।

    यस वर्षको अटो शोमा विद्युतीय सवारीसाधनको उपस्थिति विशेष रूपमा देखिएको थियो। नयाँ पुस्ताका ईभीप्रति बढ्दो उपभोक्ता आकर्षणबीच बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी र डङफेङलगायतका ब्रान्डले आफ्ना नयाँ तथा आधुनिक मोडल प्रदर्शन गरेका थिए। तीमध्ये बीवाईडीको स्टलले दर्शकको विशेष ध्यान आकर्षित गर्न सफल भएको थियो।

    बीवाईडीले उत्कृष्ट स्टलको उपाधि प्राप्त गर्नु नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो विश्वास र ब्रान्डको लोकप्रियताको अर्को संकेतका रूपमा समेत हेरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली बजारमा ईभीको माग तीव्र रूपमा बढिरहेका बेला बीवाईडीले आधुनिक प्रविधियुक्त विद्युतीय सवारीमार्फत आफ्नो उपस्थिति थप बलियो बनाउँदै आएको छ।

    अटो शोमा सवारीसाधन बिक्रीसँगै बैंक तथा वित्तीय संस्थाबीच अटो कर्जाको प्रतिस्पर्धा पनि देखिएको थियो। उपभोक्तालाई आकर्षित गर्न बैंकहरूले सस्तो ब्याजदर, सेवा शुल्कमा छुट तथा ब्याजदरमा लाग्ने प्रिमियममा छुटलगायतका विभिन्न योजना सार्वजनिक गरेका थिए। केही बैंकले विद्युतीय सवारीसाधनका लागि विशेष कर्जा सुविधा पनि उपलब्ध गराएका थिए।

    यस वर्षको अटो शो बाढीपहिरोबाट देशले ठूलो क्षति व्यहोरिरहेको संवेदनशील परिस्थितिमा आयोजना गरिएको थियो। शो सञ्चालनकै क्रममा भोटेकोशी, त्रिशूलीलगायत नदी प्रणालीमा आएको बाढी तथा पहिरोका कारण जनधनको ठूलो क्षति भएको थियो। कठिन परिस्थितिका बाबजुद अटो शो निरन्तर सञ्चालन हुनु उद्योगी–व्यवसायी, सहभागी कम्पनी, सञ्चारमाध्यम तथा सर्वसाधारणको सहयोग र विश्वासको परिणाम भएको नाडाले जनाएको छ।

    नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिका कारण उत्सवभन्दा पीडाको अनुभूति बढी भए पनि जीवन सधैँ एउटै ठाउँमा रोकिन नसक्ने बताएका छन्।

    उनले भने, “विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ, तर हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन।” कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाएको सहयोग, सद्भाव र विश्वासले आयोजकलाई थप मजबुत बनाएको उनको भनाइ थियो।

    अध्यक्ष उप्रेतीका अनुसार नाडा अटो शो केवल सवारीसाधन बिक्री गर्ने थलो मात्र नभई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने, नयाँ प्रविधि प्रदर्शन गर्ने तथा उद्योगका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण माध्यम हो।

    यस वर्ष विभिन्न पाँच विधामा उत्कृष्ट स्टलको उपाधि प्रदान गरिएको थियो। चारपांग्रे प्यासेन्जर कारतर्फ बीवाईडी उत्कृष्ट घोषित हुँदा, दुईपांग्रे सवारीसाधनतर्फ एमएडब्लु राइड्स प्रालिको यामाहा, कमर्सियल चारपांग्रेतर्फ एनईभी नेपाल प्रालिले बिक्री गर्दै आएको दिगो, अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्ट्स प्रालिको मिशेलिन टायर तथा बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएका छन्।

    उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो।

    नाडा अटो शो २०२६ को समापनसँगै बीवाईडीले उत्कृष्ट प्यासेन्जर कार स्टलको उपाधि जित्दै प्रदर्शनीमा आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar