नाडा अटो शो २०२६ मा २०० स्टल, २२ ब्रान्डका कारदेखि १२ ब्रान्डका दुईपाङ्ग्रेसम्म

  • कालिका खवर
  • सोमवार, साउन २५, २०८३
  • काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नेपाली अटोमोबाइल क्षेत्रकै ठूलो तथा बहुप्रतीक्षित मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

    नाडाका अनुसार अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ। अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायसँग सम्बन्धित कम्पनी तथा व्यवसायीका लागि प्रदर्शनी नयाँ उत्पादन, प्रविधि र सेवाको प्रदर्शनसँगै व्यवसाय प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको अपेक्षा छ।

    यस वर्षको अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्रान्डका पेसेन्जर कार, १६ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुने नाडाले जनाएको छ।

    त्यस्तै, ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्। नाडाका अनुसार देशभरका अटोमोबाइल व्यवसायीमा अटो शोप्रति उत्साह बढेकाले स्टलका लागि उच्च माग भइरहेको छ।

    तर, भृकुटीमण्डप प्रदर्शनी परिसरमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिन भइरहेको नाडाले जनाएको छ।

    स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने भएकाले यस वर्षको नाडा अटो शोमा नेपाली उपभोक्ताले नयाँ सवारीसाधन, प्रविधि तथा अटोमोबाइलसम्बन्धी सेवाबारे प्रत्यक्ष जानकारी पाउने अपेक्षा गरिएको छ।

    लामो समयदेखि सुस्त रहेको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउनसमेत अटो शोले महत्वपूर्ण भूमिका खेल्ने नाडाको विश्वास छ। प्रदर्शनीले व्यवसायी, उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क, नयाँ व्यवसायिक अवसर र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar