मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा सवारीसाधनमा वित्तीय सहकार्य

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा टाटा मोटर्सका सवारीसाधनको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.बीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन (एससीभी) खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    समझदारीअनुसार सिप्रदीका देशभर रहेका शाखामार्फत टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट सवारी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। सिप्रदीले आवश्यक कागजातसहित सम्भावित ग्राहकलाई कर्जा प्रक्रियाका लागि बैंकमा सिफारिस गर्नेछ भने बैंकले आफ्नो कर्जा नीति तथा ग्राहकको क्रेडिट मूल्यांकनका आधारमा कर्जा स्वीकृत गर्नेछ।

    सम्झौताअनुसार आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनका लागि मूल्यको ७० प्रतिशतसम्म तथा विद्युतीय सवारीसाधनका लागि ६० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सकिनेछ। व्यवसायिक संस्थाले बैंकलाई स्वीकार्य स्थिर सम्पत्ति धितो उपलब्ध गराएको अवस्थामा आईसीई सवारीसाधनका लागि वित्तीय सीमा मूल्यको १०० प्रतिशतसम्म पुर्‍याउन सकिने व्यवस्था गरिएको छ।

    कर्जा अवधि ग्राहकसँगको सहमतिअनुसार निर्धारण गरिनेछ। यस सहकार्यले टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने उद्यमी, व्यवसायी तथा ग्राहकलाई वित्तीय पहुँच सहज बनाउनुका साथै खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

    समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङ प्रा.लि.का उपाध्यक्ष सौरभ थापालियाले हस्ताक्षर गरेका छन्। समझदारी भदौ ८, २०८३ अर्थात् अगस्ट २४, २०२६ मा काठमाडौंमा सम्पन्न भएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar