महिन्द्राको फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी ९ई’ नेपालमा सार्वजनिक, मूल्य ६० लाख

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । भारतीय विद्युतीय मोटर उत्पादक महिन्द्राले आफ्नो नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी ‘एक्सइभी ९ई’ (XEV 9e) नेपाली बजारमा सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पो–२०२६ को पहिलो दिन महिन्द्राले यो प्रिमियम इलेक्ट्रिक एसयूभीलाई नेपालमा औपचारिक रूपमा डेब्यु गरेको हो।

    कम्पनीले नेपाली बजारमा एक्सइभी ९ईको मूल्य ६० लाख रुपैयाँ तोकेको छ। आकर्षक डिजाइन, लामो रेन्ज, शक्तिशाली मोटर र अत्याधुनिक प्रविधिसहित ल्याइएको यो एसयूभीले प्रिमियम विद्युतीय गाडीको बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

    ६७९ किलोमिटरसम्म रेन्ज

    एक्सइभी ९ईमा ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार यसको उच्च क्षमताको ब्याट्रीले एकपटक पूर्ण चार्जमा ६७९ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

    एसयूभीमा १७५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। यसले लामो दूरीको यात्राका क्रममा ब्याट्री छिटो चार्ज गर्न सहयोग पुर्‍याउनेछ।

    २८२ हर्सपावरसम्मको शक्ति

    पर्फर्मेन्सका हिसाबले एक्सइभी ९ईमा २२८ देखि २८२ हर्सपावरसम्मको पावर र अधिकतम ३८० एनएम टर्क उत्पादन गर्ने क्षमता रहेको छ।

    यसले भेरियन्टअनुसार ७ देखि ७.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ। यसको अधिकतम गति २०२ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।

    एसयूभीमा २,७६२ मिलिमिटरको ह्विलबेस र २०५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले नेपाली सडकका विभिन्न अवस्थाका साथै कच्ची तथा उबडखाबड सडकमा समेत सहज ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ।

    सामान राख्नका लागि पछाडि ५२७ लिटरको बुट स्पेस उपलब्ध छ भने अगाडि १५० लिटरको फ्रन्क दिइएको छ।

    ट्रिपल स्क्रिन र हर्मान कार्डन अडियो

    एक्सइभी ९ईको इन्टेरियरलाई प्रिमियम तथा प्रविधिमैत्री बनाइएको छ। यसमा ट्रिपल–स्क्रिन ककपिट, प्रिमियम इन्टेरियर र ठूलो प्यानोरामिक सनरुफ उपलब्ध छन्।

    मनोरञ्जनका लागि १६ वटा स्पिकरसहितको हर्मान कार्डन अडियो सिस्टम जडान गरिएको छ। यसले गाडीभित्र प्रिमियम अडियो अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    लेभल–२ प्लस एडाससहित सुरक्षा

    सुरक्षाका लागि एक्सइभी ९ईमा ७ वटा एयरब्याग, लेभल–२ प्लस एडास, ३६० डिग्री क्यामेरा र ड्राइभर मोनिटरिङ सिस्टमजस्ता उन्नत प्रविधि उपलब्ध छन्।

    लामो रेन्ज, उच्च पर्फर्मेन्स, आधुनिक डिजाइन र उन्नत सुरक्षा प्रविधिसहित महिन्द्राको एक्सइभी ९ई नेपालमा सार्वजनिक भएसँगै प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थपिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar