महिलालाई ड्राइभिङ पेसामा सशक्त बनाउन इनड्राइभको पहल, पहिलो ब्याच दीक्षित

  • कालिका खवर
  • सोमवार, साउन ११, २०८३
  • काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलाहरूलाई ड्राइभिङ पेसामा समान अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो समूहलाई प्रमाणपत्र प्रदान गरेको छ।

    काठमाडौंमा आयोजित विशेष समारोहमा तीन महिनासम्म सञ्चालन गरिएको गहन प्रशिक्षण सफलतापूर्वक पूरा गरेका १० जना महिला सहभागीलाई आधिकारिक रूपमा प्रमाणपत्र प्रदान गरिएको हो।

    इनड्राइभका अनुसार यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलालाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरसँग जोड्ने तथा परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको ड्राइभिङ पेसामा रहेका सामाजिक र व्यावहारिक अवरोध न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

    तीन महिनाको प्रशिक्षण अवधिमा सहभागीहरूलाई सडक सुरक्षा, व्यावहारिक सवारी सञ्चालन (राइडिङ), ग्राहक सेवा तथा व्यक्तिगत सुरक्षासम्बन्धी बहुआयामिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमले सहभागी महिलाहरूलाई सुरक्षित, आत्मविश्वासी र व्यावसायिक चालकका रूपमा तयार पार्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

    यस्तै, फाइटब्याक नेपालसँगको सहकार्यमा सहभागीहरूलाई उन्नत आत्मरक्षा तालिम पनि प्रदान गरिएको थियो। उक्त तालिमले सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गर्न, जोखिमको सामना गर्न तथा आत्मविश्वासका साथ आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सहयोग पुगेको कम्पनीको विश्वास छ।

    इनड्राइभले यस कार्यक्रममार्फत महिलाहरूको आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्दै मोबिलिटी क्षेत्रलाई थप समावेशी, सुरक्षित र अवसरमुखी बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar