महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसी ग्रुपअन्तर्गतका स्वदेशी ब्याट्री ब्रान्ड ‘एसटीसी राइड’ र ‘एसटीसी इनर्जी’ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आधिकारिक ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ।
    कम्पनीले खेलकुद क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई र दीपा शाहीसँग औपचारिक सम्झौता गरेको जनाएको छ।

    बुधबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष हस्ताक्षर समारोहबीच उक्त सम्झौता सम्पन्न गरिएको हो। सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल तथा युवा प्रतिभा दीपा शाहीले ‘एसटीसी राइड’को प्रतिनिधित्व गर्नेछन् भने अनुभवी खेलाडी मनमाया दमाईलाई ‘एसटीसी इनर्जी’को ब्रान्ड एम्बास्डरको रूपमा अनुबन्ध गरिएको कम्पनीले जानकारी दिएको छ।

    नेपाली महिला राष्ट्रिय फुटबल टोलीका यी खेलाडीहरूले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। उनीहरूको अनुभव, प्रतिभा र समर्पणले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका खेलेको बताइएको छ।

    कम्पनीका अनुसार एसटीसी राइड र एसटीसी इनर्जी पूर्ण रूपमा ‘मेड इन नेपाल’ ब्याट्री ब्रान्ड हुन्। नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु र भरपर्दो प्रदर्शन प्रदान गर्दै आएका छन्। विशेषगरी दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा कम्पनीले आफ्नो प्रभाव विस्तार गर्दै लगेको जनाएको छ।

    कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो। उहाँले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा एन्फाका महासचिव किरण राई तथा एन्फाका टेक्निकल म्यानेजर एवं पूर्व कप्तान हरि खड्काले पनि यस सहकार्यको प्रशंसा गर्दै नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक सुरुवात भएको बताएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar