कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, साउन २६, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ।

    नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Pediatric Care) सेवा सुदृढीकरणका लागि प्रदान गरिएको उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिने बैंकले जनाएको छ।

    नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

    बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको जनाएको छ। सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सेवा व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकका अनुसार यस सहयोगले उपचारको गुणस्तर अभिवृद्धि, जीवनरक्षा दर वृद्धि तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरणमा योगदान पुग्नेछ।

    ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासलगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar