इक्यान अध्यक्ष पदमा महासचिव दीपकराज भुसालको उम्मेदवारी घोषणा

  • कालिका खवर
  • बिहिबार, पुस १७, २०८२
  • काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को आगामी नेतृत्वका लागि अध्यक्ष पदमा महासचिव दीपकराज भुसालले उम्मेदवारी दिने घोषणा गरेका छन्। साधारण सभा तथा निर्वाचनको मिति तय भएसँगै उनले औपचारिक रूपमा अध्यक्ष पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

    इक्यानका अनुसार संघको साधारण सभा २८ पुस अर्थात् १२ जनवरीका दिन बिहान ८ बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुनेछ। सोही कार्यक्रममा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

    हाल महासचिवको जिम्मेवारीमा रहेका भुसाल शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनले यसअघि पनि इक्यानभित्र रहेर विभिन्न तहका जिम्मेवारी सम्हाल्दै संस्थाको गतिविधिमा योगदान पुर्‍याउँदै आएका छन्।

    अध्यक्षका उम्मेदवार भुसाल एनलाइटन इन्टरनेशनल एजुकेसनका अध्यक्षसमेत हुन्। वैदेशिक शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने अभियानमा उनी निरन्तर संलग्न रहँदै आएका छन्।

    उम्मेदवारी घोषणा गर्दै भुसालले इक्यानलाई थप संस्थागत बनाउँदै सदस्यहरूको हित संरक्षणमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्। नीतिगत सुधार, आन्तरिक सुशासन र उत्तरदायित्व बढाउने उनको प्रमुख एजेन्डा रहेको छ।

    शैक्षिक परामर्श क्षेत्रलाई विश्वासिलो र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको भुसालको भनाइ छ। इक्यानलाई सदस्य–केन्द्रित, नीतिमुखी र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने योजनासहित उनले नेतृत्वको दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar