ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष पूरा

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार तथा निर्यात प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

    युरोपेली संघ (ईयू) को ‘एभ्रिथिङ बट आर्म्स’ (ईबीए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपाली उत्पादनको निर्यात क्षमता अभिवृद्धि र बजारीकरणका लागि ईयूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो।

    निर्यात व्यवसायी महासंघ नेपालले ईयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले नेपालको निर्यात प्रवर्द्धनमा ईयूले पुर्‍याउँदै आएको सहयोग आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गर्नुभयो।

    “नेपालको निर्यात क्षमता अभिवृद्धि गर्न, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच बढाउन र निर्यातकर्ताहरूले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,” उहाँले भन्नुभयो।

    ईबीए कार्यक्रमअन्तर्गत अति कम विकसित मुलुकका उत्पादनलाई हतियारबाहेकका सबै वस्तुमा युरोपेली बजारमा भन्सार तथा कोटारहित पहुँच प्रदान गरिँदै आएको छ। कार्यक्रममा २५ वर्षको अनुभव समीक्षा गर्दै नेपालले उपलब्ध व्यापारिक अवसरको अधिकतम उपयोग गर्ने तथा अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि आउन सक्ने व्यापारिक चुनौतीका विषयमा समेत छलफल गरिएको थियो।

    नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय बजारमा यसको उच्च सम्भावना रहेको बताउनुभयो। युरोपेली बजारमा निर्यात गर्दा नेपाली व्यवसायीले भोगिरहेका चुनौती समाधानका लागि ईयूले निरन्तर सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो।

    त्यस्तै, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न ईयू र नेपाल सरकारबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

    कार्यक्रममा युरोपेली बजारमा निर्यात गरिरहेका नेपाली उद्यमीहरूले आफ्ना अनुभव र चुनौती प्रस्तुत गरेका थिए। साथै, निर्यातसम्बन्धी विभिन्न व्यापार निर्देशिकासमेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले नोभेम्बर ४ मा बेल्जियमको ब्रसेल्सस्थित युरोपेली आयोगको चार्लेमेन भवनमा आयोजित ईबीएको २५औँ वार्षिकोत्सवको मूल समारोह प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरेका थिए। उक्त समारोहमा ईयूका उच्च अधिकारी, अति कम विकसित मुलुकका प्रतिनिधि तथा व्यापारिक क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar