२०औँ वार्षिकोत्सवमा गरिमा विकास बैंकले आयोजना गर्दै ‘गरिमा रोड रेस २०८३’

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुनेछ।

    स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि रोड रेस आयोजना गर्दै आएको हो। यस वर्ष प्रतियोगिताको तेस्रो संस्करणमा खुला तथा कर्पोरेट विधातर्फ करिब एक हजार पाँच सय धावकको सहभागिता रहने अपेक्षा गरिएको छ।

    प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ। खुलातर्फ महिला तथा पुरुषका लागि १० किलोमिटर तथा कर्पोरेटतर्फ महिला तथा पुरुषका लागि ५ किलोमिटर दौड हुने बैंकले जनाएको छ। कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी तथा भुक्तानी सेवा प्रदायक र प्रणाली सञ्चालक संस्थामा कार्यरत स्थायी कर्मचारीले सहभागिता जनाउन सक्नेछन्।

    खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथमलाई जनही ५० हजार रुपैयाँ, द्वितीयलाई ३५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। कर्पोरेटतर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १५ हजार, चौथोलाई १० हजार र पाँचौँलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। दौड पूरा गर्ने सहभागीलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिनेछ।

    खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालय परिसर पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा समापन हुनेछ। कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर पुनः बालुवाटारमै समापन हुनेछ।

    प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको जनाएको छ। इच्छुक धावकहरूले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन्।

    गरिमा विकास बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै इच्छुक धावकहरूलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar