हिमालयन बैंकको नाफा ३.२४ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य गिरावट आएको छ। बैंकले असोज मसान्तसम्म ७० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिमा बैंकले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको नाफा ३.२४ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो रकम २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ थियो।

    तर, बैंकको सञ्चालन नाफा (Operating Profit) भने उल्लेख्य रूपमा घटेको छ। गत वर्षको असोज मसान्तसम्म १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्षको सोही अवधिमा घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ मात्र पुगेको छ, जुन ४१.७२ प्रतिशतको गिरावट हो।

    वित्तीय विवरण अनुसार, बैंकको वितरणयोग्य नाफा हाल ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै, बैंकको खराब कर्जा (NPL) दर पनि ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ।

    तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) १२ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा रहेको विवरणमा उल्लेख छ।

    हिमालयन बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar