हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौँ । नाइमा  को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम आज काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटा का लागि नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो।

    कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालय का डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको थियो, जसबाट उनीहरूले मेकानिजम, सुरक्षा र मर्मतसम्भारसम्बन्धी महत्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका छन्।

    यसअघि सहभागीहरूले गत चैत्र महिनामा लक्ष्मी हुन्डाई मा आयोजित विद्युतिय सवारीसाधन संयन्त्रसम्बन्धी ३ दिने तालिममा पनि सहभागिता जनाएका थिए। साथै, हाइब्रिड सवारीसाधनमा केन्द्रित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए। यसरी विद्युतियदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ।

    कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल ले प्राविधिक शिक्षा र विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले माग र उपलब्ध स्रोतका आधारमा आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

    तालिम उद्घाटन सत्रमा सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारी ले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय प्राथमिकतामा राखिने र आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। नेपालको विविध भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो।

    त्यसैगरी, प्रदीप न्यौपाने (बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य) ले नाइमाको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो। हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा सहयोग पुर्‍याएको उहाँको भनाइ थियो।

    कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेज का निर्देशक सूर्यांश वैद्य ले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिको रूपमा उल्लेख गर्दै यससम्बन्धी प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको बताउनुभयो।

    तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतिय सवारीसाधनसम्बन्धी ३ दिने तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूले सञ्चालन गरेका थिए। नाइमाले आफ्नो प्राविधिक समिति तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासमा यस्ता पहलहरू निरन्तर अघि बढाउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar