गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार गर्दै नेपालमा थप सशक्त बन्यो जेएसडब्लुएमजी मोटर इन्डिया

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं। जेएसडब्लुएमजी मोटर इन्डियाले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्यसहित गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा.लि.सँग रणनीतिक वितरण साझेदारी विस्तार गरेको छ। यससँगै काठमाडौंको थापाथली मा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार नयाँ सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित, ग्राहककेन्द्रित तथा दीर्घकालीन उपस्थितिको आधार तयार गर्नेछ। नयाँ डिलरशिपमार्फत ग्राहकहरूले एमजीका प्रविधिमैत्री तथा आधुनिक विशेषतायुक्त गाडीहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। शोरुममा एमजी कमेट ईभी र एमजी विन्डसर ईभी लगायतका प्रमुख मोडलहरू उपलब्ध रहेका छन्।

    कम्पनीले नेपालमा स्मार्ट तथा दिगो मोबिलिटी समाधानप्रति बढ्दो आकर्षण र ग्राहक अपेक्षामा आएको परिवर्तनका कारण नेपाल एमजीका लागि महत्वपूर्ण बजार बन्दै गएको जनाएको छ। यस साझेदारीमार्फत कम्पनीले देशभर बिक्री तथा बिक्रीपछिको सेवा थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ।

    नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले जेएसडब्लुएमजी मोटर इन्डियासँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु महत्वपूर्ण अवसर भएको बताए। उनले आधुनिक पूर्वाधार, उत्कृष्ट ग्राहक सेवा, प्रविधि, डिजाइन र दिगोपनको संयोजनले नेपाली ग्राहकहरूको चाहनासँग राम्रो मेल खाने विश्वास व्यक्त गरे।

    जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका विद्युतीय गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ। कम्पनीका अनुसार एमजी कमेट ईभी को प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभी ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ।

    कम्पनीले नेपालमा एमजी ब्रान्डको नयाँ अध्याय सुरु भएको उल्लेख गर्दै नवप्रवर्तन, दिगोपन र आधुनिक डिजाइनमार्फत नेपालको मोबिलिटी भविष्यलाई नयाँ रूपमा परिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ।

    सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा.लि. नेपालका अग्रणी अटोमोबाइल आयातकर्ता तथा वितरकमध्ये एक हो। कम्पनीले विश्वप्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्दै परम्परागत प्रदर्शन क्षमता र नयाँ पुस्ताका मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।

    त्यसैगरी, जेएसडब्लुएमजी मोटर इन्डिया सन् २०२३ मा एसएआईसी मोटर र जेएसडब्लु ग्रुप बीचको संयुक्त साझेदारीबाट स्थापना भएको कम्पनी हो। कम्पनीले स्मार्ट तथा दिगो अटोमोटिभ इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित उन्नत प्रविधियुक्त तथा भविष्यमुखी सवारीसाधन बजारमा ल्याउँदै आएको छ।

    सन् १९२४ मा बेलायतमा स्थापना भएको एमजी ब्रान्ड आफ्नो स्पोर्ट्स कार, रोडस्टर तथा आधुनिक विद्युतीय गाडीहरूका कारण विश्वभर परिचित छ। हाल भारतको गुजरातस्थित हलोलमा रहेको अत्याधुनिक उत्पादन केन्द्रमार्फत कम्पनीले वार्षिक १ लाखभन्दा बढी सवारीसाधन उत्पादन गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar