‘घर निर्माण फेस्ट २०८२’ भृकुटीमण्डपमा आयोजना हुने, विश्वकै सबैभन्दा ठूलो इट्टा पनि राखिने

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं । घर निर्माण फाउण्डेशनले निर्माण क्षेत्रका लागि नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण मेला मानिएको ‘घर निर्माण फेस्ट–२०८२’ आयोजना गर्ने भएको छ। दोस्रो संस्करणको रूपमा आयोजित यस फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न हुने तयारी गरिएको आयोजकले जानकारी दिएको छ।

    नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि ब्रान्ड पहिचान, ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध र उत्पादन प्रदर्शनका क्षेत्रमा अझै पनि चुनौतीहरू रहेको आयोजकहरूको अभिव्यक्ति छ। यी चुनौतीलाई सम्बोधन गर्दै निर्माण क्षेत्रलाई आधुनिक प्रविधिसहित नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ फेस्ट आयोजना गर्न लागिएको हो।

    चारदिने प्रदर्शनीमा व्यवसायी एवं ब्रान्डहरूले आफ्ना उत्पादनहरू लक्षित ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन विशेषज्ञको मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श प्राप्त गर्नेछन्। आयोजकका अनुसार यो फेस्ट व्यवसायमुखी, परिणाममुखी र अवलोकन–केन्द्रित बनाइएको छ। प्रदर्शनीबाट २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ भने ४० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान छ।

    यस फेस्टको विशेष आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा निर्माण गरिएको छ, जसलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गराउने तयारी भइरहेको छ। सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण गरिएको विशाल इट्टाले हालसम्म विश्व रेकर्ड कायम राख्दै आएको छ।

    फेस्टमा अर्को अनौठो आकर्षण “उल्टो घर” हुनेछ, जहाँ घरका सम्पूर्ण संरचना तथा डिजाइन उल्टो रूपमा प्रदर्शित गरिनेछ। साथै, नेपालमा कम प्रयोगमा रहेको ‘डोम हाउस’को अवधारणासमेत विशेष प्रदर्शनमार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
    प्रदर्शनीमा सहभागी अवलोकनकर्ताले इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा निःशुल्क अन्तर्क्रिया गर्ने अवसर पाउनेछन्। उनीहरूले घर निर्माणसम्बन्धी जिज्ञासा, सामग्री छनोट, डिजाइन, लागत, गुणस्तर तथा नवीनतम प्रविधिबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar