एनएमबी बैंकको अगुवाइमा तिला–१ आयोजनाको वित्तीय व्यवस्थापन टुंगियो

  • कालिका खवर
  • बुधबार, भदौ ३, २०८३
  • काठमाडौं । कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एनएमबी बैंक लिमिटेडको अगुवाइमा आयोजनाका लागि ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको हो।

    एससी पावर कम्पनी प्रालिले तिलाखोलामा निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सोमध्ये ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ।

    वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अगुवा बैंकका रूपमा सहभागी भएको छ। ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा रहेका छन्। अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले समेत आयोजनामा ऋण लगानी गर्नेछन्।

    एससी पावर कम्पनीको नेतृत्व अध्यक्ष सुसन कर्माचार्य र उनको समूहले गरिरहेको छ। आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार क्षमता ४४० मेगावाट रहेको छ। विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले वि.सं. २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक विद्युत उत्पादन सुरु गर्नुपर्नेछ।

    वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

    पहिलो वर्ष ११ अर्ब ४० करोड आम्दानीको अनुमान

    निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा नेपालका ठूला जलविद्युत आयोजनामध्ये एक हुने जनाइएको छ। आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

    आयोजनाको वित्तीय व्यवस्थापनसँगै यसको निर्माणका लागि आवश्यक ऋण लगानीको स्रोत सुनिश्चित भएको छ। यसले निजी क्षेत्रको नेतृत्वमा अघि बढिरहेको ठूलो जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ।

    वातावरणीय तथा सामाजिक पक्षमा जोड

    एनएमबी बैंकले आयोजनामा लगानी गर्नुअघि वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) पक्षको अध्ययन तथा मूल्यांकन गरेको जनाएको छ। बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार आफ्ना लगानीमा वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकन गर्दै आएको बताएको छ।

    अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राख्दै आयोजनाको प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण गरिएको बैंकले जनाएको छ।

    एनएमबी बैंकका अनुसार उसले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar