एमएडब्लू वृद्धिले नेपाल ल्यायो शक्तिशाली विद्युतीय एसयूभी ‘एम हिरो’

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो नेपाली बजारमा भित्रिएको छ। एमएडब्लू वृद्धिले नेपालमा ल्याएको यो प्रिमियम इलेक्ट्रिक एसयूभीलाई आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी गरिएको छ।

    कठिन तथा चुनौतीपूर्ण भूभागमा समेत सहज रूपमा चलाउन सकिने क्षमताका लागि परिचित एम हिरोमा चारवटा शक्तिशाली विद्युतीय मोटर जडान गरिएको छ। चारवटै मोटरले संयुक्त रूपमा अधिकतम ८०० किलोवाट पावर उत्पादन गर्ने कम्पनीको दाबी छ।

    करिब ३.५ टन तौल रहेको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ४.२ सेकेन्डमा हासिल गर्न सक्ने बताइएको छ। यसले एम हिरोलाई उच्च प्रदर्शन क्षमतासहितको विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

    १४२.७ किलोवाट आवरको ब्याट्री

    एम हिरोमा १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा यसले ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने र उक्त रेन्ज डब्लूएलटीपी परीक्षणबाट मापन गरिएको बताइएको छ।

    अफरोड क्षमताका लागि गाडीमा विभिन्न ड्राइभिङ मोड उपलब्ध छन्। बालुवा, चट्टान, हिलो तथा पानीयुक्त कठिन भूभागमा सहज रूपमा सञ्चालन गर्न छुट्टाछुट्टै अफरोड मोड दिइएको छ। यसले सामान्य सडकसँगै साहसिक तथा कठिन यात्राका लागि पनि गाडीलाई उपयुक्त बनाउने अपेक्षा गरिएको छ।

    विलासी र आधुनिक डिजाइन

    डिजाइनतर्फ एम हिरोमा ठूलो स्क्रिनसहितको आधुनिक ड्यासबोर्ड, थ्री-स्पोक स्टेयरिङ तथा विशेष डिजाइनका डोर ह्यान्डल राखिएका छन्। गाडीको इन्टेरियरलाई विलासी तथा आधुनिक शैलीमा तयार गरिएको छ।

    एम हिरोको नेपाली बजार मूल्य भने हालसम्म सार्वजनिक गरिएको छैन। नाडा अटो शो २०२६ मा सार्वजनिक गरिएपछि यसको मूल्यसहित नेपाली बजारका लागि उपलब्ध भेरियन्ट तथा अन्य प्राविधिक विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    उच्च पावर, ठूलो ब्याट्री क्षमता र अफरोड क्षमतासहितको एम हिरो नेपाली बजारमा प्रवेश गरेसँगै यसको मूल्य कति निर्धारण हुन्छ भन्ने विषय अहिले अटोमोबाइल पारखीहरूबीच चासोको विषय बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar