एचसीसीएनको नयाँ डीन बने सुरज वैद्य, विदेशी लगानी र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा

  • कालिका खवर
  • बिहिबार, साउन ७, २०८३
  • काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन्। फिलिपिन्सका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत रहेका वैद्यलाई काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले सर्वसम्मत रूपमा नयाँ डीन चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालस्थित अवैतनिक वाणिज्यदूत भोला थापा डीनको जिम्मेवारीमा थिए। साधारणसभाले पासाङ दावा शेर्पालाई संगठनको भाइस डीनमा चयन गरेको छ। नेपालको औद्योगिक तथा निजी क्षेत्रको नेतृत्वमा लामो अनुभव बटुलेका वैद्य नेतृत्वको वैद्य अर्गनाइजेसन ६ दशकभन्दा बढी पुरानो व्यापारिक समूह हो। समूहले टोयोटा गाडीको आधिकारिक वितरकका रूपमा लामो समयदेखि सेवा दिँदै आएको छ भने सिमेन्ट, हस्पिटालिटीलगायत विभिन्न क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गर्दै आएको छ। नवनियुक्त डीन वैद्यले आफ्नो कार्यकालमा नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने तथा आर्थिक कूटनीतिलाई थप प्रभावकारी बनाउने कार्यलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्। बिहीबार जारी प्रेस वक्तव्यमा उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैद्यका अनुसार, एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गर्दै आएको छ। ती राष्ट्रहरूले विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन, पर्यटन तथा लगानीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा ठूलो संयुक्त आर्थिक आकार भएका ती मुलुकहरूसँग नेपालको सम्बन्ध विस्तार गर्नु आर्थिक विकासका लागि महत्वपूर्ण अवसर हुने उनले बताए। उनले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्ने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको भूमिका अझ महत्वपूर्ण बनेको उल्लेख गरे। मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था तथा समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनको भनाइ छ। वैद्यले आफ्नो कार्यकालमा एचसीसीएनले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै सदस्यहरूले प्रतिनिधित्व गर्ने मुलुकहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउने बताए। त्यसमार्फत गुणस्तरीय विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार तथा बजार पहुँच विस्तार गर्ने र शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई थप सशक्त बनाउने लक्ष्य लिइने उनले स्पष्ट पारे। उनले नेपालको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै एचसीसीएन आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभव र सद्भावलाई नेपालको दीर्घकालीन विकास प्राथमिकता र विश्वव्यापी आकांक्षाको पक्षमा परिचालन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar