एआईको प्रभावकारी प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा ‘Industry Deep Dive: AI for Nepalese Priority Sectors’ विषयक अभिमुखीकरण सम्पन्न

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अमेरिकी दूतावासको संयुक्त सहकार्यमा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी ‘Industry Deep Dive: AI for Nepalese Priority Sectors’ विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले एआईको प्रयोगमार्फत नेपाली व्यवसायको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

    कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता नेपाली निजी क्षेत्रको उत्पादकत्व, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले एआईको जिम्मेवार प्रयोग, डिजिटल पूर्वाधार विस्तार, सीप विकास र नीतिगत सुधारमार्फत प्रविधिमा आधारित आर्थिक विकासलाई गति दिन आवश्यक रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यबाट नेपालको आवश्यकताअनुसारको एआई इकोसिस्टम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँका अनुसार नेपालमा युवा उद्यमी, स्टार्टअप र नवप्रवर्तकहरूबीच एआईप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। ग्राहक सेवा, डिजिटल भुक्तानी, फिनटेक, स्मार्ट कृषि, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रमा एआईको प्रयोगको व्यापक सम्भावना रहेको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले उपयुक्त नीति, लगानी र डिजिटल पूर्वाधार सुनिश्चित गर्न सके नेपाली युवालाई प्रविधिको उपभोक्ता मात्र नभई एआईमा आधारित समाधानका सिर्जनाकर्ताका रूपमा स्थापित गर्न सकिने धारणा राख्नुभयो।

    कार्यक्रममा अमेरिकी कम्पनी Lift.ai का संस्थापक तथा प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडले एआईको व्यावसायिक प्रयोग, विश्वव्यापी अभ्यास तथा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा यसको सम्भावना र चुनौतीबारे प्रस्तुति दिनुभयो। उहाँले एआईको प्रयोगलाई निरन्तर अभ्यास र सिकाइमार्फत प्रभावकारी रूपमा आत्मसात् गर्न सकिने बताउनुभयो।

    महासंघकी केन्द्रीय सदस्य जुना माथेमाले डिजिटल रूपान्तरणको वर्तमान युगमा एआई निजी क्षेत्रका लागि अवसर मात्र नभई आवश्यकता बनिसकेको बताउँदै उद्योग–व्यवसायलाई प्रविधिसँग जोडेर नवप्रवर्तन, अनुसन्धान तथा डिजिटल सीप विकासमा लगानी गर्न सके नेपालको आर्थिक प्रतिस्पर्धात्मक क्षमता उल्लेखनीय रूपमा वृद्धि हुने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्नो व्यवसायमा एआईको प्रयोग, कार्यान्वयनका चुनौती, डेटा व्यवस्थापन, बजार विस्तार, ग्राहक सेवा र उत्पादन व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।

    अभिमुखीकरण कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar