डोङफेङले भोयामा हिस्सेदारी बढायो, ईभी बजारमा नियन्त्रण थप मजबुत

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । चीनको अटोमोबाइल निर्माता डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभमा आफ्नो हिस्सेदारी बढाउँदै कम्पनीमाथिको नियन्त्रण थप मजबुत बनाएको छ।

    भोयाले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत कम्पनीका २ करोड १ लाख ९० हजार H-शेयर खरिद गरेको छ। यो खरिद कम्पनीको कुल जारी शेयर पूँजीको करिब ०.५५ प्रतिशत बराबर रहेको बताइएको छ।

    शेयर खरिद प्रक्रिया सम्पन्न भएसँगै भोयामा डोङफेङ मोटर तथा यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७०.०२ प्रतिशत पुगेको छ। हाल नियन्त्रणकारी शेयरधनीहरूले २ अर्ब ४३ करोड ८० लाखभन्दा बढी घरेलु शेयर तथा करिब १३ करोड ८० लाख शेयर आफ्नो स्वामित्वमा राखेका छन्।

    डोङफेङले सन् २०२० को अन्त्यतिर सार्वजनिक गरेको भोया ब्रान्ड सन् २०२१ मा औपचारिक रूपमा स्थापना भएको थियो। कम्पनीले मुख्य रूपमा २ लाख युआनदेखि ५ लाख युआन मूल्य वर्गका प्रिमियम विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ।
    अगस्ट २०२५ मा डोङफेङले ‘लिस्टिङ बाइ इन्ट्रोडक्सन’ प्रक्रियामार्फत भोयालाई हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने घोषणा गरेको थियो। सोही समयमा डोङफेङले आफूलाई निजीकरण गरी बजारबाट हटाइने योजना पनि सार्वजनिक गरेको थियो।

    ‘लिस्टिङ बाइ इन्ट्रोडक्सन’ भनेको नयाँ शेयर जारी नगरी पहिले नै जारी भइसकेका शेयरलाई स्टक बजारमा सूचीकृत गर्ने प्रक्रिया हो। यस प्रक्रियामा पूँजी संकलन गरिँदैन र हालका शेयरधनीसँग रहेका शेयर मात्रै कारोबारका लागि उपलब्ध हुन्छन्।

    कम्पनीको मूल्याङ्कन सीमितताका कारण डोङफेङले आफ्नो सूचीकरणपछि कुनै इक्विटी रिफाइनान्सिङ गर्न नसकेको बताइएको छ। जसका कारण यसको H-शेयर प्लेटफर्मको वित्तीय उपयोगिता कमजोर बनेको थियो।

    भोया यसै वर्ष मार्च १९ मा ०७४८९ स्टक कोडअन्तर्गत हङकङ स्टक एक्सचेन्जमा औपचारिक रूपमा सूचीकृत भएको थियो। कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड युआन खुद नाफा कमाएको जनाएको छ।

    ब्रान्डको आम्दानी सन् २०२३ को १२ अर्ब ७५ करोड युआनबाट बढेर सन् २०२५ मा ३४ अर्ब ८६ करोड युआन पुगेको छ। यही अवधिमा गाडी बिक्री ५० हजार २८५ युनिटबाट बढेर १ लाख ५० हजार १६९ युनिट पुगेको कम्पनीले जनाएको छ।

    यस वर्षको पहिलो चार महिनामा मात्रै भोयाले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.०२ प्रतिशतले बढी हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar