डोङफेङ नामी बक्स ईभीको मूल्य ३ लाख २६ हजार रुपैयाँ घट्यो, नयाँ मोडलमा ६ एयरब्याग

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा उपभोक्तामाझ अत्यधिक रुचाइएको डोङफेङ नामी बक्स ईभीको मूल्य उल्लेख्य रूपमा घटाइएको छ। नेपाली बजारमा छोटो समयमै बलियो पकड बनाउन सफल यो ह्याचब्याक ईभीको ठूलो ब्याट्री भेरियन्टको मूल्यमा ३ लाख २६ हजार रुपैयाँले कमी गरिएको हो।

    डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले मूल्य समायोजनसँगै गाडीमा केही नयाँ तथा महत्वपूर्ण सुविधाहरू थपेको छ भने कम प्रयोग हुने केही विशेषताहरू हटाएको जनाएको छ।

    नाडा अटो शो २०२६ को समयमा बजारमा सार्वजनिक हुँदा नामी बक्सको ठूलो ब्याट्री भेरियन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ तोकिएको थियो। नयाँ मूल्यअनुसार अब उक्त मोडल ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने भएको छ।

    यसका अतिरिक्त कम्पनीले हाल नामी बक्सका दुवै भेरियन्टमा १ लाख रुपैयाँसम्म नगद छुट दिने योजना समेत ल्याएको छ। मूल्य कटौती र छुट योजनासँगै बढ्दो प्रतिस्पर्धाबीच नामी बक्सले आफ्नो बजार हिस्सा र लोकप्रियता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    नयाँ मोडलमा ६ वटा एयरब्याग

    मूल्य घटाइए पनि नयाँ मोडलमा सुरक्षा र प्रविधिका हिसाबले महत्वपूर्ण सुधार गरिएको छ। २०२६ मोडलमा एयरब्यागको संख्या बढाएर ६ वटा पुर्‍याइएको छ।

    यसअघि नेपाली बजारमा उपलब्ध नामी बक्समा दुईवटा मात्र एयरब्याग रहेकोमा नयाँ संस्करणमा चालक तथा यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै थप एयरब्याग समावेश गरिएको हो।

    त्यस्तै डिजिटल अनुभवलाई थप प्रभावकारी बनाउन इन्फोटेनमेन्ट सिस्टममा डार्क मोड, इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा थपिएको छ।

    कुन-कुन फिचर हटाइयो ?

    उत्पादन लागत कम गरी गाडीको मूल्य प्रतिस्पर्धी बनाउन कम्पनीले केही विलासी तथा कम प्रयोग हुने फिचरहरू हटाएको छ।

    अघिल्लो संस्करणमा उपलब्ध अटो पार्किङ, एम्बियन्ट लाइटिङ तथा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) नयाँ मोडलमा समावेश गरिएको छैन।

    बिक्रेता कम्पनीका अनुसार नेपाली सडकको अवस्था तथा उपभोक्ताको वास्तविक आवश्यकतालाई ध्यानमा राख्दै ती विशेषताहरू हटाइएको हो।

    सुरुवाती दिनमा ७० किलोवाट क्षमताको मोटरमा उपलब्ध नामी बक्स अहिले ५० किलोवाट क्षमताको मोटरमा बिक्री हुँदै आएको छ।

    यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री विकल्प उपलब्ध छन्। सानो ब्याट्री भेरियन्टले डब्लूएलटीपी मापदण्डअनुसार २३७ किलोमिटर तथा ठूलो ब्याट्री भेरियन्टले ३१७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

    मूल्यमा भएको उल्लेख्य कटौती, थपिएको सुरक्षा सुविधा तथा नयाँ डिजिटल फिचरका कारण ३० लाख रुपैयाँको सेग्मेन्टमा राम्रो रेन्ज र भरपर्दो सुरक्षा खोज्ने उपभोक्ताका लागि डोङफेङ नामी बक्स थप आकर्षक विकल्प बन्न सक्ने देखिएको छ। अब यो नयाँ मूल्य रणनीतिले नेपाली ईभी बजारमा कस्तो प्रभाव पार्छ भन्ने आगामी महिनाको बिक्री परिणामले देखाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar