चीनका राष्ट्रपति चढ्ने ‘हङछी’ अब नेपालमा, लक्जरी ईभी बजारमा नयाँ प्रतिस्पर्धा

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौं । चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी तथा विदेशी राष्ट्रप्रमुखहरूको सवारीका रूपमा दशकौँदेखि परिचित रहेको चीनको प्रतिष्ठित लक्जरी अटोमोबाइल ब्रान्ड हङछी (Hongqi) अब पहिलो पटक नेपाली बजारमा प्रवेश गर्ने भएको छ।

    नेपालमा विद्युतीय सवारी (ईभी) को बजार तीव्र गतिमा विस्तार भइरहेका बेला हङछीको आगमनलाई प्रिमियम तथा लक्जरी ईभी सेग्मेन्टमा नयाँ अध्यायका रूपमा हेरिएको छ। ‘रेड फ्ल्याग’ अर्थात् ‘रातो झण्डा’ को अर्थ दिने हङछी चीनको राष्ट्रिय गौरवसँग जोडिएको ब्रान्ड हो। यही कारण यसलाई अन्तर्राष्ट्रिय बजारमा धेरैले ‘चीनको रोल्स–रोयस’ भन्ने उपनामले समेत चिन्ने गर्छन्।

    नेपालका लागि हङछीको आधिकारिक वितरक एडभान्स्ड अटोमोबाइल प्रालि हुनेछ। कम्पनीले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत ब्रान्डलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार पहिलो खेपका गाडी आयात प्रक्रिया समेत सुरु भइसकेको छ।

    सन् १९५८ मा स्थापना भएको हङछी चीनकै सबैभन्दा पुरानो लक्जरी कार ब्रान्ड हो। यसको स्वामित्व चीनको सरकारी अटोमोबाइल कम्पनी एफएडब्लू (FAW) ग्रुप अन्तर्गत रहेको छ। प्रारम्भिक चरणमा हङछीका गाडी सर्वसाधारणका लागि बिक्री गरिँदैनथे। ती गाडी विशेष रूपमा चीनका राष्ट्रप्रमुख, कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू तथा विदेशी विशिष्ट पाहुनाको सवारीका लागि निर्माण गरिन्थे। त्यसैले हङछीलाई चीनमा केवल कार ब्रान्ड मात्र नभई राष्ट्रिय प्रतिष्ठाको प्रतीकका रूपमा समेत हेरिन्छ।

    पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय सवारी उत्पादनमा आक्रामक रूपमा विस्तार गर्दै आफूलाई आधुनिक ईभी निर्माता कम्पनीका रूपमा स्थापित गरिरहेको छ। हाल हङछीका उत्पादन युरोप, मध्यपूर्व तथा दक्षिणपूर्वी एसियालगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छन्।

    नेपालमा पहिलो चरणमा E-HS4 र कम्पनीको फ्ल्यागशिप लक्जरी विद्युतीय एसयूभी E-HS9 सार्वजनिक गर्ने तयारी गरिएको छ। यी दुवै मोडल प्रिमियम ईभी ग्राहकलाई लक्षित गरी ल्याइने कम्पनीले जनाएको छ।

    हङछीको प्रमुख मोडल E-HS9 पूर्ण आकारको लक्जरी विद्युतीय एसयूभी हो। विश्व बजारमा यो ८४ किलोवाट-घण्टादेखि १२० किलोवाट-घण्टासम्मका ब्याट्री विकल्पमा उपलब्ध छ। डब्लुएलटिपी मापदण्डअनुसार यसले एकपटकको पूर्ण चार्जमा ५१५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्छ। डुअल मोटर अल-ह्विल ड्राइभ प्रणाली, एयर सस्पेन्सन, नापा लेदर सिट, मसाज तथा भेन्टिलेटेड सिट, बहु डिजिटल डिस्प्ले, प्रिमियम अडियो प्रणाली र अत्याधुनिक चालक सहायता प्रविधिले यसलाई लक्जरी ईभी वर्गको प्रतिस्पर्धी मोडल बनाएको छ।

    नेपालमा E-HS4 र E-HS9 को मूल्य करिब ६० लाखदेखि ६५ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको भए पनि कम्पनीले आधिकारिक मूल्य सार्वजनिक गरिसकेको छैन।

    सन् २०२५ मा हङछीले विश्वभर ४ लाख ६० हजारभन्दा बढी सवारी बिक्री गरेको थियो। तीमध्ये करिब डेढ लाख नयाँ ऊर्जा सवारी (NEV) रहेका थिए। कम्पनीले सन् २०२८ सम्म युरोपका २५ देशमा १५ नयाँ विद्युतीय तथा हाइब्रिड मोडल सार्वजनिक गर्ने रणनीति अघि बढाएको छ।

    नेपालमा पछिल्ला वर्षहरूमा चिनियाँ विद्युतीय सवारीको उपस्थितिले तीव्र गति लिएको छ। सुरुआती चरणमा किफायती मोडलमा सीमित रहेको बजार अहिले विस्तार हुँदै प्रिमियम तथा लक्जरी सेग्मेन्टसम्म पुगेको छ। यस्तो अवस्थामा हङछीको आगमनले नेपाली उपभोक्तालाई विश्वस्तरीय लक्जरी विद्युतीय सवारीको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    विशेषगरी सरकारी तथा कर्पोरेट क्षेत्रका उच्च व्यवस्थापक, व्यवसायी तथा प्रिमियम ग्राहकलाई लक्षित गर्दै हङछीले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउने रणनीति अघि सारेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar