चौधरी फाउण्डेशनद्वारा सत्यमझोरा स्वास्थ्य चौकीलाई आधुनिक प्रसूति सामग्री हस्तान्तरण

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौँ । चौधरी फाउण्डेशनले गडी गाउँपालिका–७ अन्तर्गत रहेको सत्यमझोरा स्वास्थ्य चौकीमा स्तरउन्नती तथा आधुनिक प्रसूति सेवा सञ्चालनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।

    यो पहलले स्थानीय आमाहरू र नवजात शिशुहरूलाई सुरक्षित, सहज र गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य बोकेको छ।

    फाउण्डेशनले प्रसूति केन्द्रलाई मापदण्डअनुसार आधुनिक र उपयोगी बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरी, गडी गाउँपालिकाका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “यो केवल एउटा परियोजना मात्र होइन, प्रत्येक आमाले सुरक्षित वातावरणमा सुरक्षित प्रसूति गर्ने अवसर पाऊन् र प्रत्येक नवजात शिशुले सम्मानजनक तथा स्वस्थ जीवनको सुरुवात गर्न सकोस् भन्नेतर्फ हाम्रो हार्दिक प्रतिबद्धता हो।”

    अन्य वक्ताहरूले समुदाय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै चौधरी फाउण्डेशनप्रति आभार व्यक्त गरे।

    सुनसरीमा सुरु गरिएको यो पहल सातै प्रदेशमा सञ्चालन भइरहेका प्रसूति केन्द्र सुदृढीकरण कार्यक्रमकै एक महत्वपूर्ण हिस्सा हो। अहिलेसम्म फाउण्डेशनले नवलपरासीको पक्लिहवा प्रसूति केन्द्र, नवलपुरको देवचुली नगर अस्पताल र सप्तरीको फत्तेपुर स्वास्थ्य चौकीसहित चारवटा प्रसूति केन्द्रको स्तरोन्नति गरिसकेको छ।

    चौधरी फाउण्डेशनले सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, महिला सशक्तिकरण तथा राष्ट्रिय मातृ–शिशु स्वास्थ्य लक्ष्य प्राप्तिमा निरन्तर योगदान दिँदै आएको छ र आगामी दिनहरूमा पनि यस अभियानलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar