बन्दीपुरमा सात महिनामा २१ हजारभन्दा बढी विदेशी पर्यटकको आगमन

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • तनहुँको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा सात महिनाको अवधिमा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्मको यो तथ्याङ्कले ‘पहाडकी रानी’ बन्दीपुरप्रति विदेशी आकर्षण पछिल्लो समय तीव्र गतिमा बढिरहेको संकेत गर्छ।

    अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाका अनुसार बन्दीपुर आने विदेशीहरूमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक रहेका छन्। कुल आगन्तुकमध्ये पाँच हजार ५१ जना चिनियाँ पर्यटक रहेको र उनीहरू प्रायः बासबसाईभन्दा घुमफिरका लागि आउने गरेको जानकारी उनले दिए। बास बस्नका लागि भने विदेशी पर्यटकको प्राथमिकता पोखरा र चितवन रहने गरेको छ।

    चालु सात महिनामा विदेशी आगन्तुकको आगमन यसरी भएको छ: वैशाखमा ३,२९७, जेठमा ३,३४२, असारमा २,७६६, साउनमा २,०७५, भदौमा १,८३२, असोजमा ३,७८६ र कात्तिकमा ४,६२७ जना।

    विदेशीसँगै आन्तरिक पर्यटन पनि उतिकै सक्रिय देखिएको छ। बन्दीपुरमा सात महिनामा कुल ३२ हजार ७६० आन्तरिक पर्यटक आएका छन्। विशेषगरी कात्तिक र मंसिरमा कलेज तथा विद्यालयका विद्यार्थी भ्रमणमा आउने भएकाले आन्तरिक आगन्तुकको संख्या उच्च हुने गरेको छ। कात्तिक महिनामा मात्रै १७ हजार ५८ आन्तरिक पर्यटक पुगेका थिए।

    २०७८ साल चैतदेखि २०७९ चैतसम्म बन्दीपुरमा १२ हजार ९३९ विदेशी पर्यटक पुगेका थिए। पर्यटन वर्ष २०२५ लाइ लक्षित गर्दै यस वर्ष अझै बढी पर्यटक भित्र्याउने योजना रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। उनका अनुसार हाल बन्दीपुरमा चारवटा घरबास र ७० होटल भरिभराउ रहेका छन्, जसले बढ्दो पर्यटक आगमनबाट स्थानीय व्यवसायीहरू उत्साहित बनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar