होटल व्यवसायी महासंघद्वारा राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र एआईसँग जोड्ने लक्ष्य

    काठमाडौं। होटल व्यवसायी महासंघ नेपाल (एचपीएफएन)ले सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोड्ने उद्देश्यले एकवर्षे ‘नेसनल डिजिटल लिटरेसी क्याम्पेन फर द होटल एन्ड रेस्टुरेन्ट इन्डस्ट्री’ अर्थात् राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु गरेको छ।

    ४७औँ विश्व पर्यटन दिवसको अवसरमा सुरु गरिएको अभियानले विशेषगरी साना तथा मझौला होटल तथा रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको महासंघले जनाएको छ।

    बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासंघ नेपालका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियालगायत पर्यटन तथा निजी क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो।

    कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, आबद्ध संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चारकर्मी र पर्यटन क्षेत्रका अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

    साना तथा मझौला व्यवसायीको क्षमता विकासमा सरकारी सहयोग

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपालको आतिथ्यता क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण आवश्यक रहेको बताए।

    प्रविधिको व्यावहारिक प्रयोग विस्तार नगरी आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहने उल्लेख गर्दै उनले महासंघले सुरु गरेको अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिइएको बताए।

    अभियानमार्फत व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै व्यावसायिक क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यसको कार्यान्वयनमा मन्त्रालयबाट आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।

    उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डको सहकार्य

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न महासंघ सहकार्य गर्न तयार रहेको बताए।

    प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि तथा व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन संस्थागत समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

    वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले निजी क्षेत्रबीचको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्यता क्षेत्रको व्यावसायिक विकासमा जोड दिए।

    नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतमले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि अभियान महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा होटल व्यवसायी महासंघसँग सहकार्य र समन्वय गरेर अघि बढ्न पर्यटन बोर्ड तयार रहेको धारणा व्यक्त गरे।

    वर्षभरि सञ्चालन हुने अभियान

    महासंघले विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने औपचारिक कार्यक्रममै सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले अभियानलाई एक वर्षसम्म सञ्चालन गर्ने जनाएको छ।

    विश्व पर्यटन दिवसको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य लिएको छ।

    महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको अभियानले विशेषगरी डिजिटल पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ।

    गुगल म्यापदेखि डिजिटल भुक्तानीसम्म तालिम

    अभियानअन्तर्गत व्यवसायीलाई Google Business Profile, Google Maps, OTA तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली (PMS), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, QR Payment, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम दिइनेछ।

    महासंघले सातै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ।

    विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग गर्ने लक्ष्य राखिएको छ।

    व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य रहेको महासंघले जनाएको छ। त्यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान गरी आवश्यकताअनुसार प्रशिक्षण तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

    आतिथ्यता क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

    होटल तथा रेस्टुरेन्ट क्षेत्र पर्यटन, रोजगारी सिर्जना र उद्यमशीलताको महत्वपूर्ण आधार रहेकाले बदलिँदो पर्यटन बजारअनुसार डिजिटल प्रविधिको प्रयोग आवश्यक बन्दै गएको महासंघको भनाइ छ।

    अनलाइन उपस्थिति, डिजिटल बुकिङ, ग्राहक समीक्षा तथा प्रविधिमैत्री सेवा व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्ष बन्दै गएको अवस्थामा अभियानले साना, मझौला तथा ठूला व्यवसायबीच प्रविधि र अवसरको पहुँचमा रहेको दूरी घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    महासंघले अभियानको पहिलो कार्यचक्रका रूपमा आगामी एक वर्ष देशभर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रबाट व्यक्त भएको सहकार्यको प्रतिबद्धताले अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न थप आधार तयार भएको महासंघको भनाइ छ।

    विश्व पर्यटन दिवसको अवसरमा सुरु भएको अभियानमार्फत नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar