मन्जिल देवानको संयोजकत्वमा भिटोफ नेपाल कोशी प्रदेश तदर्थ समिति गठन

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले कोशी प्रदेशमा आफ्नो प्रदेश समिति गठन गरेको छ। मन्जिल देवानको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

    भिटोफ नेपालका अध्यक्ष हरिसरण थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशमा गाउँ पर्यटनको प्रवर्द्धन, स्थानीय पर्यटन व्यवसायको विकास तथा ग्रामीण क्षेत्रका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने विषयमा छलफल गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै भिटोफ नेपालका अध्यक्ष तथा प्रमुख अतिथि हरिसरण थपलियाले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा मौलिक सम्पदाका दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताए।

    उनले ग्रामीण पर्यटनको विकासमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्नुका साथै स्थानीय कला, संस्कृति, परम्परा र मौलिक जीवनशैलीको संरक्षण गर्न सकिने धारणा व्यक्त गरे।

    “गाउँ पर्यटन भनेको केवल पर्यटकलाई गाउँमा पुर्‍याउने विषय मात्र होइन, स्थानीय समुदायको आयआर्जन बढाउने, रोजगारी सिर्जना गर्ने र गाउँको मौलिक पहिचानलाई विश्वसामु चिनाउने माध्यम पनि हो,” अध्यक्ष थपलियाले भने।

    उनले कोशी प्रदेशमा रहेका पर्यटकीय गाउँ, होमस्टे, स्थानीय संस्कृति, कृषि तथा प्राकृतिक सम्पदालाई एकीकृत रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गर्दै नवगठित समितिले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

    अध्यक्ष थपलियाले भिटोफ नेपालले देशका विभिन्न ग्रामीण तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा गर्दै आएको अभियानलाई कोशी प्रदेशमा थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे। उनले नवगठित समितिलाई स्थानीय पर्यटनको पहिचान, प्रवर्द्धन तथा विकासका लागि सक्रिय रूपमा काम गर्न आग्रहसमेत गरे।

    मन्जिल देवानको संयोजकत्वमा गठित ११ सदस्यीय तदर्थ समितिले कोशी प्रदेशका ग्रामीण तथा पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्द्धन र विकासका लागि आवश्यक कार्यक्रम अघि बढाउने जनाएको छ।

    कोशी प्रदेश प्राकृतिक सौन्दर्य, हिमाली तथा पहाडी भूगोल, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता र स्थानीय जीवनशैलीका कारण ग्रामीण तथा सामुदायिक पर्यटनका लागि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ। नवगठित समितिले यी सम्भावनालाई पर्यटन गतिविधिसँग जोड्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar