बीवाईडी नेपालको ‘अपडेट टु केयर प्लस’ अभियान, १३ सर्भिस सेन्टरबाट सेवा

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । नेपालका लागि को आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले विद्यमान ग्राहकको स्वामित्व अनुभवलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ।

    साइमेक्स केयर, गुहेश्वरीमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार यो अभियान देशभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा एकसाथ लागू भएको छ। अभियानमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी तथा स्वामित्व सुरक्षासम्बन्धी सुविधा एकीकृत रूपमा उपलब्ध गराइनेछ।

    नाइमा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा सुरु गरिएको अभियानले बीवाईडीको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने कम्पनीको विश्वास छ। बीवाईडीले सवारी बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

    अभियानलाई ‘केयर प्लस’, ‘कनेक्ट प्लस’ र ‘प्रोटेक्ट प्लस’ गरी तीनवटा मुख्य आधारमा विभाजन गरिएको छ। ‘केयर प्लस’ अन्तर्गत विस्तृत सवारी निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा प्रमाणित प्राविधिकमार्फत सर्भिस उपलब्ध हुनेछ।

    त्यस्तै, ‘कनेक्ट प्लस’ अन्तर्गत सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी सुविधा उपलब्ध गराइनेछ। सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन सुविधा नपाएका योग्य सवारीसाधनमा यी सुविधा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। योग्य ग्राहकले ६ महिनासम्म निःशुल्क बीवाईडी एप कनेक्टिभिटी डेटा समेत पाउनेछन्।

    ‘प्रोटेक्ट प्लस’ अन्तर्गत बीमा परामर्श, बीमा नवीकरणमा सहजीकरण, योग्य सवारीका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा दुर्घटनापछि नगदरहित सेवा र बीमा दाबी प्रक्रियामा समन्वय गरिनेछ। यसअन्तर्गत १० वर्षसम्मको विस्तारित वारेन्टीसम्बन्धी सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ। यसका लागि शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सहकार्य गरिएको छ।

    अभियानअन्तर्गत योग्य ग्राहकले ब्याट्री कभर, स्पेयर टायर तथा डेन्ट एन्ड पेन्ट सेवामा १०–१० प्रतिशत छुट पाउनेछन्। साथै, एकपटक निःशुल्क होम चार्जर चेक–अप सुविधा पनि उपलब्ध हुनेछ।

    अभियान शुभारम्भका अवसरमा साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले ग्राहकको वास्तविक स्वामित्व यात्रा सवारी डेलिभरीपछि सुरु हुने बताए। उनका अनुसार प्रोफेसनल सर्भिस, स्मार्ट कनेक्टिभिटी र व्यापक स्वामित्व सुरक्षालाई एउटै पहलमा समेटेर देशभरका १३ वटै सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराइएको हो।

    हाल बीवाईडीको आधिकारिक सर्भिस नेटवर्क धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन, ललितपुर, काठमाडौं, वीरगञ्ज, जनकपुर, इटहरी, विराटनगर र बिर्तामोडमा सञ्चालनमा छ। ग्राहकलाई थप सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले सन् २०२६ भित्र भक्तपुर, डल्लु र लहानमा थप तीनवटा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।

    बीवाईडी नेपालको यो अभियानले बिक्रीपछिको सेवा, डिजिटल कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई एकीकृत गर्दै नेपाली विद्युतीय सवारी बजारमा ग्राहक सेवाको नयाँ मापदण्ड स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar