बीरगञ्जमा प्रोटोनको नयाँ सोरुम सञ्चालन, ई.मास ५ सार्वजनिक

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • बीरगञ्ज । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ। नयाँ सोरुम सञ्चालनसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ।

    नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ई.मास ५ सार्वजनिक गरिएको हो। सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्यले डिजाइन गरिएको यो विद्युतीय एसयूभीमा अत्याधुनिक प्रविधि तथा विभिन्न स्मार्ट फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

    ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ७० लिटर क्षमताको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। यो गाडीले मलेसियामा विभिन्न प्रतिष्ठित अवार्डसमेत प्राप्त गरिसकेको कम्पनीको भनाइ छ।

    बजार विस्तारलाई निरन्तरता दिँदै जगदम्बा मोटर्सले पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरेको छ। बिर्तामोडमा सोरुम सञ्चालनमा आएपछि नेपालमा प्रोटोनका आधिकारिक आउटलेटको संख्या १२ पुग्नेछ।

    सोरुम उद्घाटन तथा ई.मास ५ सार्वजनिककरण समारोहमा बीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा र व्यावहारिक उपयोगिताका कारण ई.मास ५ ग्राहकको रोजाइ बन्ने विश्वास व्यक्त गरे।

    ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

    अब ग्राहकहरूले बीरगञ्ज बाइपास रोडस्थित प्रोटोनको नयाँ सोरुममा पुगेर ई.मास ५ सहित ई.मास ७ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar