बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति प्रतिवेदन आर्थिक मामिला तथा योजना मन्त्रीसमक्ष पेश

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपसमक्ष पेश गरेको छ।

    नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको प्रगति तथा कार्यालयका विभिन्न गतिविधिहरू समेटिएको वार्षिक विवरण मन्त्री लिङ्थेपसमक्ष पेश गरेका हुन्।

    प्रतिवेदनमा आर्थिक वर्षभरि सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवाला निकायसँग भएका अन्तरक्रिया, बीमाको पहुँच विस्तार तथा बीमा क्षेत्रको विकासका लागि गरिएका विभिन्न पहललगायतका प्रमुख गतिविधिहरू समेटिएका छन्।

    प्रतिवेदन पेश गर्ने क्रममा कोशी प्रदेशमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमाको पहुँच विस्तार तथा आम नागरिकमा बीमाको महत्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको थियो।

    त्यसैगरी, आगामी दिनमा कोशी प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच समन्वय तथा सहकार्य गर्दै आम नागरिकलाई लक्षित बीमा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा पनि छलफल गरिएको छ।

    प्रदेशका ग्रामीण तथा बीमाको पहुँच न्यून रहेका क्षेत्रसम्म बीमा सम्बन्धी सूचना तथा सेवा विस्तार गर्ने, नागरिकलाई बीमाप्रति थप जागरूक बनाउने तथा बीमा सम्बन्धी समस्या र गुनासोको प्रभावकारी सम्बोधनका लागि सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

    भेटघाट तथा छलफलले कोशी प्रदेशमा बीमाको पहुँच र प्रभावकारिता अभिवृद्धि गर्दै बढीभन्दा बढी नागरिकलाई बीमाको दायरामा ल्याउन प्रदेश सरकार र नेपाल बीमा प्राधिकरणबीच आगामी दिनमा थप सहकार्य र समन्वयको आधार तयार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar