भृकुटीमण्डपमा विद्युत्, इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेसको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।

    मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले जनाएको छ।

    नेपालको विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मञ्चसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार यसले उद्योग, व्यापार र प्रविधिबीच सहकार्य बढाउँदै सम्बन्धित क्षेत्रको विकासमा योगदान पुर्‍याउनेछ।

    प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार उपकरण, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा प्रणालीलगायत सामग्री प्रदर्शन गरिनेछ।

    नेपालमा बढ्दो जलविद्युत् उत्पादनको प्रभावकारी उपयोग, ऊर्जा दक्षताको प्रवर्द्धन तथा विद्युतीय पूर्वाधारको विकासलाई थप व्यवस्थित बनाउन प्रदर्शनीले भूमिका खेल्ने आयोजकको विश्वास छ। साथै, उत्पादक, आयातकर्ता, वितरक, व्यवसायी तथा सेवा प्रदायकबीच नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

    प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक र अन्य सरोकारवालालाई एउटै मञ्चमा ल्याउनेछ। यसबाट प्रविधि, ज्ञान तथा अनुभव आदानप्रदानसँगै व्यापार विस्तार र दीर्घकालीन व्यावसायिक सहकार्यको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

    निःशुल्क प्रवेश रहने प्रदर्शनीमा उद्योगी–व्यवसायी, सरकारी अधिकारी, आर्किटेक्ट, इलेक्ट्रीकल इन्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिक, विद्युतीय व्यवसायी, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारण गरी ३० हजारभन्दा बढी आगन्तुक सहभागी हुने आयोजकको अनुमान छ।

    प्रदर्शनीमा , नेपाल इन्जिनियर्स एशोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) सहयोगी संस्थाका रूपमा रहेका छन्।

    आयोजकका अनुसार प्रदर्शनीले नेपालमा ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सशक्त बनाउँदै सम्बन्धित क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar