भोटेकोशी बाढीपीडितका लागि रिलायबल नेपाल लाइफको ५१ लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको जनाएको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नायव प्रमुख कार्यकारी अधिकृत दिपेशबाबु तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढी र प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

    सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धताअनुसार कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन तथा राहत र पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरिएको कम्पनीको भनाइ छ।

    कम्पनीले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवन पुनर्बहालीका लागि सरकार तथा सरोकारवाला निकायबाट भइरहेका प्रयास सफल हुने विश्वास व्यक्त गरेको जनाएको छ।

    विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित समुदायलाई तत्कालीन राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्म सहयोग पुर्‍याउने उद्देश्यका साथ आर्थिक सहायता प्रदान गरेको जनाएको छ।

    कम्पनीले विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरेको छ। आगामी दिनमा पनि देश र समाजलाई आवश्यक परेको अवस्थामा आफ्नो सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय तथा राहतमुखी कार्यमा निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar