बेन्टलेको पहिलो विद्युतीय एसयूभी ‘टोर्काल’ सार्वजनिक हुने तयारी

  • कालिका खवर
  • बुधबार, असार २४, २०८३
  • काठमाडौँ। विश्वप्रसिद्ध विलासी कार निर्माता बेन्टलेले आफ्नो इतिहासकै पहिलो पूर्ण विद्युतीय (ईभी) कारको नाम र बाहिरी डिजाइनको प्रारम्भिक झलक सार्वजनिक गरेको छ। कम्पनीले नयाँ विद्युतीय एसयूभीको नाम ‘बेन्टले टोर्काल’ राखेको जनाएको छ। यो मोडल सार्वजनिक भएपछि कम्पनीको उत्पादन सूचीमा कन्टिनेन्टल जीटी, फ्लाइङ स्पर र बेन्टाएगापछि चौथो प्रमुख मोडलका रूपमा थपिनेछ। ‘टोर्काल’ नाम स्पेनको सिएरा डेल टोर्काल पर्वत शृङ्खलामा रहेको ‘एल टोर्काल डे एन्टक्वेरा’ प्राकृतिक आरक्षबाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ।

    कम्पनीले सार्वजनिक गरेको टिजर तस्वीरअनुसार बेन्टलेको पहिलो विद्युतीय कार एसयूभी स्वरूपमा आउनेछ। यसको पछाडिको भाग सिधा र उठेको डिजाइनमा तयार गरिएको छ भने पातलो ‘डायमण्ड–कट’ एलईडी टेललाइट, बीचमा बेन्टलेको प्रतिष्ठित लोगो तथा कार्बन फाइबर फिनिसले गाडीलाई थप आकर्षक र स्पोर्टी बनाएको छ। कम्पनीले हाल पछाडिको डिजाइन मात्र सार्वजनिक गरे पनि अगाडिको भाग यसअघि प्रदर्शन गरिएको ‘ईएक्सपी १५ ईभी’ अवधारणासँग मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ।

    बेन्टलेले मोटर, ब्याट्री तथा अन्य प्राविधिक विवरण सार्वजनिक नगरे पनि ‘टोर्काल’ नामले नै उच्च टर्क अर्थात् शक्तिशाली प्रदर्शनको संकेत गरेको विश्लेषण गरिएको छ। हाल कम्पनीका सबैभन्दा शक्तिशाली कन्टिनेन्टल जीटी एस र फ्लाइङ स्पर एस मोडलले ६८० हर्सपावर र ९३० एनएम टर्क उत्पादन गर्छन्। नयाँ विद्युतीय मोडलले भने १,००० एनएमभन्दा बढी टर्क उत्पादन गर्ने अनुमान गरिएको छ, जसले यसलाई कम्पनीकै सबैभन्दा शक्तिशाली गाडी बनाउन सक्ने विश्वास गरिएको छ।

    प्रारम्भिक जानकारीअनुसार बेन्टले टोर्काल फक्सवागन समूहको ‘प्रीमियम प्लेटफर्म इलेक्ट्रिक (पीपीई)’ प्रविधिमा आधारित हुनेछ। यही प्लेटफर्ममा पोर्श कायेन इलेक्ट्रिक र आउडी क्यु६ ई–ट्रोन जस्ता विद्युतीय गाडीहरू विकास भइरहेका छन्। पोर्शको उच्च संस्करणले १,१५६ हर्सपावर, १,५०० एनएम टर्क र एकपटकको पूर्ण चार्जमा ६२३ किलोमिटरसम्मको रेन्ज दिने भएकाले बेन्टलेको नयाँ ईभीमा पनि उन्नत प्रविधि र उच्च क्षमताको अपेक्षा गरिएको छ।

    बेन्टलेले ‘टोर्काल’लाई आगामी सेप्टेम्बर २३, २०२६ मा विश्व बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले यो मोडलमार्फत विद्युतीय युगमा प्रवेश गरे पनि परिमार्जित ‘बियोन्ड १००+’ रणनीतिअन्तर्गत कम्तीमा सन् २०३५ सम्म इन्धनबाट चल्ने नयाँ मोडलहरूको उत्पादन पनि निरन्तर जारी राख्ने स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar