बाढीपीडितका लागि बीवाईडी र साइमेक्सको ७ करोड रुपैयाँ सहयोग घोषणा

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ।

    बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको समयमा बीवाईडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।

    यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्काउन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

    हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ। नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको प्रमुख व्यापारिक मार्गसमेत हो। नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ।

    सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बीवाईडी गहिरो दुःखी रहेको बताएका छन्।

    उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली तथा घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बीवाईडीको ध्यान र सहानुभूति रहेको उल्लेख गरेका छन्। नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिँदै स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको सहयोगले सरकारका राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

    नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालिले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ। विपद्को यस कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा समेत यो सहयोगलाई लिइएको कम्पनीले जनाएको छ।

    बीवाईडी र साइमेक्सको यस पहलले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सामूहिक प्रयासको महत्वलाई थप उजागर गरेको छ। दुवै संस्थाले विपद्बाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar