औद्योगिक गाँजा खेती वैधानिक बनाउने गण्डकी प्रदेशको पहल स्वागतयोग्य : चेम्बर निवर्तमान अध्यक्ष मल्ल

  • कालिका खवर
  • शुक्रबार, असार २६, २०८३
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेश सरकारले नन-नार्कोटिक औद्योगिक गाँजा (Industrial Hemp) खेतीलाई स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी सञ्चालन नीतिसहित वैधानिक बनाउने पहल गरेकोप्रति स्वागत गरेका छन्।

    मल्लले यो कदमले कृषि, उद्योग तथा निर्यात क्षेत्रको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्दै किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना, बाँझो जमिनको सदुपयोग तथा औद्योगिक कच्चा पदार्थ उत्पादनमा उल्लेखनीय योगदान पुग्ने बताएका छन्।

    उनका अनुसार औद्योगिक गाँजाबाट फाइबर, कपडा, कागज, निर्माण सामग्री, जैविक उत्पादन, बीउ, तेल तथा अन्य मूल्यवर्द्धित वस्तु उत्पादन गर्न सकिने भएकाले यसले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउनुका साथै निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।

    मल्लले नीतिको सफल कार्यान्वयनका लागि वैज्ञानिक मापदण्ड, स्पष्ट नियामकीय व्यवस्था, गुणस्तर परीक्षण प्रणाली तथा प्रभावकारी अनुगमन संयन्त्र अनिवार्य रहेको उल्लेख गरे। यस्ता आधारहरू सुनिश्चित गर्न सके गण्डकी प्रदेशले औद्योगिक गाँजा खेतीको विकासमा देशकै लागि उदाहरणीय सफलता हासिल गर्न सक्ने उनको भनाइ छ।

    उनले गण्डकी प्रदेशबाट प्राप्त हुने सकारात्मक अनुभवका आधारमा अन्य प्रदेशहरूले पनि बाँझो जमिनको सदुपयोग गर्दै नन-नार्कोटिक औद्योगिक गाँजा खेतीलाई व्यवस्थित रूपमा विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।

    Plz subscribe the news

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar