‘अशक्तहरुले सहज रुपमा बैंकिङ सेवा लिनका लागि हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ’

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • काठमाडौं । नेपालमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुलाई बैंकिङ सेवा लिन सकस भएकाले त्यस्ता व्यक्तिलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्ने नेपाल दृष्टि विहीनसंघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले बताएका छन् ।

    अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवर्द्धन कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा आफ्ना धारणा राख्दै उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरु अपाङ्गता मैत्री नभएको उनले बताए । सोही कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा बैंकिङ सेवा लिन नपाएको तितो यर्थाथलाई उनले उजागर गरे ।

    उनका अनुसार सबै बैंकहरुले एटिएम मेशीनमा भ्वाइस सर्भिस नराख्दा दृष्टिविहीनहरुलाई एटिएम सर्भिस लिन समस्या भएको छ । साथै, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई चेकबुक लिनमा पनि बैंकले कडाई गरेको उनले बताए । ‘दृष्टि विहीनहरुले चेकबुकमा हस्ताक्षर गर्दा एउटै खालको हस्ताक्षर गर्न समस्या हुँदा ल्याप्चे लगाउने सिस्टम भएपनि त्यो प्रभावकारी नहुँदा चेक बुक लिन समस्या छ ।

    जसले गर्दा हामीजस्ता दृष्टिविहीनहरुलाई बैंकिङ सेवा लिनै समस्या छ,’ उनले भने । यस्तै, अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल बैंकीङ सेवा लिन पनि समस्या रहेको बताउँदै उनले बैंकहरुले आफ्नो एपमा पैसा पठाउने बटन, लोड वालेट बटन छुट्टाछुट्टै बनाउनु पर्ने बताए । ‘हामी मोबाइल चलाउन नजान्ने होइनौँ, हामी त मोबाइलको स्क्रीन अफ गरेरै मोबाइल चलाइदिन्छौँ ।

    तर, बैंकले हामीलाई त्यस्ता सेवाहरु सहज रुपमा दिनुपर्ने हुन्छ,’ उनले भने, ‘डिजिटल बैंकिङ सेवा लिँदा त्यहाँ राखिएको क्याप्चामा पनि अडियो सुनेर क्याप्चा टाइप गर्न मिल्ने खालको राख्नुपर्ने हुन्छ । यस्तो हुँदा हामीलाई सेवा लिन सहजता हुन्छ । यदि आवश्यक छ भने हामी बैंकलाई तालिम दिन पनि तयार छौँ ।’

    बैंकमा जाँदा कर्मचारीहरूलाई अशक्तता सम्बन्धी आधारभूत जानकारीसमेत नहुने र शारीरिक अशक्तता भएका व्यक्तिहरूप्रति गर्ने व्यवहार पनि सन्तोषजनक नरहेको उनले गुनासो गरे । डिजिटल बैंकिङ सबै नागरिकका लागि पहुँचयोग्य भएको दाबी गरिए पनि व्यवहारमा भने त्यस्तो हुन नसकेको भन्दै शर्माले बैंकहरूले ठूलो मात्रामा सम्भावित ग्राहक र बजार गुमाइरहेको गुनासो गरे ।

    विशेषगरी दृष्टिविहीन तथा अन्य अशक्त व्यक्तिहरूका लागि बैंकिङ सेवा अझै पनि पहुँच बाहिर रहेको उनले बताए । दृष्टिविहीन व्यक्तिहरूका लागि ट्याक्टाइल मार्ग केवल बैंक बाहिर मात्र होइन, बैंकभित्र पनि अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

    बैंकभित्र ट्याक्टाइल मार्ग भएमा कुन शाखा, काउन्टर वा सेवा कता छ भन्ने यस्ता विषयमा नेपाल राष्ट्र बैंकले अग्रसरता लिँदै बैंकका कर्मचारीहरूलाई अशक्तता सम्बन्धी तालिम दिन आवश्यक रहेको उनको माग छ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा अशक्त व्यक्तिहरूका अधिकार सुनिश्चित गरिए पनि ती कानुन व्यवहारमा कार्यान्वयन नभएको शर्माले बताएका छन् । कानुनले सबैलाई समान अधिकार दिएको भए पनि व्यवहारमा त्यस्तो अधिकार प्राप्त गर्न नसकेको उनको भनाई छ ।

    नेपाल राष्ट्र बैंकले सबै नागरिकलाई समान सेवा सुविधा दिनुपर्ने भने पनि बैंकहरूले विभेद गरेको देखिएको आरोप उनले लगाए । यही अवस्था कायम रहे सार्वजनिक हित मुद्दा दायर गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिए ।

    केन्द्रीय तथ्यांक विभागकाल अनुसार नेपालमा दृष्टिविहीन व्यक्तिहरूको संख्या करिब १ लाख ४७ हजार र अन्य अशक्त व्यक्तिहरूको संख्या करिब साढे ६ लाख रहेको छ । बैंकिङ प्रणालीलाई समावेशी बनाउन सकेमा बैंकको कारोबारसमेत उल्लेख्य रूपमा वृद्धि हुने उनको विश्वास छ ।

    सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तथा पेपरलेस सेवा प्रवाहको कुरा गरे पनि त्यसअनुसारको प्रभावकारी कार्यान्वयन अझै देखिन नसकेको गुनासो गरिएको छ । यी सबै समस्या समाधानका लागि आवश्यक परे आफूहरू नै बैंकका कर्मचारीहरूलाई तालिम दिन तयार रहेको दृष्टिविहीन तथा अशक्त समुदायका प्रतिनिधिहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar