असार १९ गते धादिङमा ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ हुने

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • निराज रानाभाट, धादिङ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा अवस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा असार १९ गते ‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८३ ’ आयोजना हुने भएको छ । उक्त प्रतियोगिता निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना एसइई ब्याच २०५६ को सह – आयोजनामा सम्पन्न हुने छ । यस प्रतियोगिताको मुख्य प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति रहेका छन् ।

    छैटौं संस्करणको प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन्, भने चौथो र पाँचौं स्थान प्राप्त गर्ने ३ जनालाई नगद र प्रमाण-पत्र प्रदान गरिने छ । यस्तै, छैठौं स्थान प्राप्त ४ जनालाई आकर्षक उपहारसहित प्रमाण-पत्र दिइने छ र बाँकी सहभागी सबैलाई सान्त्वना स्वरूप सहभागिताको प्रमाण-पत्र प्रदान गरिने छ ।

    कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्न तथा नेपाली भाषाको शुद्ध लेखन अभ्यासमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ । उक्त प्रतियोगिताको अनलाइन मिडिया पार्टनरमा जनअपडेट डटकम, भिजन न्यूज नेपाल डटकम, क्लिक बुलेटिन डटकम र धादिङ सञ्चार डटकम रहेका छन्, भने टिभी पार्टनरमा दिव्य दर्शन टेलिभिजन र रेडियो पार्टनरमा निलकन्ठ एफएम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar