आफ्नै क्षेत्रका मतदातालाई गृहमन्त्री सुधन गुरुङको रोष– चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुस्

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । गोरखाका स्थानीयले चुनावी प्रतिबद्धताअनुसार ल्याबका लागि बजेट माग्दा गृहमन्त्री सुधन गुरुङले चार महिनामै विकासको ‘कायापलट’ गर्न नसक्ने भन्दै ‘भोट लिएर जानुस्’ भन्ने जवाफ फर्काएका छन् ।

    हिजो आइतबार शहीद लखन गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयले चुनावका बेला ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको स्मरण गराउँदै बजेट नआएको गुनासोसहित प्रश्न गरेका थिए ।

    कार्यक्रममा एक जनाले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको बजेटबारे सोधे । ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाईधरी फोन गर्नुभाथ्यो यहीँबाट । र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म यहाँको अनुसार गर्दिन्छु भनेर बोलेर जानुभाथ्यो । खै त ? त्यो बजेटमा कहीँ पनि देखिँदैन ।’ उनले भने ।

    ‘यति साना–साना बजेटहरू छ नि तपाईंको, यसरी किताबमा राख्ने हो भने त महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन ।’ गृहमन्त्री गुरुङले भने, ‘त्यही भएर हामीले यहाँबाट लिस्ट मगाएका छौं । के राख्ने भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि ।’

    गुरुङले आफू मन्त्री भएको चार महिना मात्रै भएको भन्दै तत्कालै सबै काम गर्न नसकिने बताए । गुरुङले भने, ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ । तपाईंलाई काम भए पुग्ने होइन त ? चार महिनामा त फेरि कायापलट गर्न म सक्दैन, भोट लिएर जानुस् ।’

    गृहमन्त्री गुरुङको उक्त अभिव्यक्तिपछि एक सहभगीले भने– जिताएर पठाइहालियो, यो कुरा पहिले भन्नुपर्थ्यो नि हजुरले । स्थानीयले चुनावमा जिताएर पठाइसकेपछि प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका थिए । गुरुङको ‘भोट लिएर जानुस्’ भन्ने अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar