आईपीओ निष्काशन गर्दै माउन्ट एभरेष्ट पावर

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुला गर्न लागेको हो ।

    कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् कुल २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट्टै अनुपातमा शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

    त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कोटाबाट १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ । श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।

    स्थानीय बासिन्दाहरूले सोलुखुम्बुको सल्लेरीस्थित माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

    यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा आवेदनि दिने समय छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते रहनेछ ।

    त्यस्तै, आयोजना प्रभावित स्थानीयका लागि भने छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते सम्म आवेदन खुला हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar