उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन बन्ने

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २०, २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम सुरु गरेको छ। शुक्रबार आयोजित समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन्।

    करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त भवन १२ तलाको हुनेछ। भवनमा दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौवटा तला रहने बैंकले जनाएको छ। आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र अत्याधुनिक प्रविधिसहित भवनलाई उपत्यकाकै नमुना व्यावसायिक संरचनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

    भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये आधुनिक र ठूलो संरचनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। अत्याधुनिक तथा सुविधासम्पन्न भवनले काठमाडौं उपत्यकाको एउटा नमुना ‘आइकन’ भवनका रूपमा पहिचान बनाउने उनको भनाइ थियो।

    त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राख्दै पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको बताए। भवनलाई ऊर्जा बचत गर्ने शैलीमा निर्माण गरिनुका साथै आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र सौर्य ऊर्जा जडान गरिने उनले जानकारी दिए।

    उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो।

    ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा विस्तार गर्दै आएको छ। बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar