दशैंमा हुम्लामा ४ करोडको खसीबोकाको व्यापार

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १०, २०८३
  • हुम्ला । हुम्लामा चार करोड रुपैयाँ मूल्य बराबरको खसीबोकाको व्यापार भएको छ ।

    दशैं वर्षको एकपटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको बलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

    बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै एक करोड रुपैयाँको व्यापार भएको बताए ।

    २५ प्रतिशत व्यापार उधारोमा गएको भए पनि दशैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ ।

    सुदूरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दशैंमा बिक्री गरेको उनले बताए ।

    यसैगरी, साढे तीन सय खसी बिक्री गरेका खसी व्यापारी पाल्दन सुनारले यो वर्ष दशैंमा हालसम्मकै धेरै व्यापार भएको जानकारी दिए ।

    २० हजारदेखि ३५ हजार रुपैयाँसम्मका खसीहरु स्थानीयले दशैंका लागि किनेर बलि चढाउने कार्य गरेको सुनारको भनाइ छ ।

    चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री भएको पाइएको छ ।

    ३४ हजार रुपैयाँको खसी दशैंमा बलि चढाएका स्थानीय जयबहादुर शाहीले मूल्य बढेपछि खसीको व्यापार नघटेको बताए । यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भए पनि झनै बढेको बताउँदै दशैंको महत्व पनि खसीको व्यापारले झल्काएको बताए ।

    हुम्ला जिल्लामा मात्र नभएर यसपटक हुम्लाका चार ट्रक खसीबोका पहिलोपटक व्यापारीले पोखरा समेत लगेका थिए ।

    दशैंमा खसीको व्यापार वृद्धि भएको उद्योग वाणिज्य संघले पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar