सर्बियामा विद्यार्थी आन्दोलनको ऐतिहासिक जित, वुचिच समर्थित सत्ता पराजित

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १०, २०८३
  • काठमाडौं । सर्बियामा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । प्रारम्भिक मतगणनाअनुसार सूचीले ५२.७१ प्रतिशत मत र २५० सदस्यीय सदनमा १४० सिट जित्ने देखिएको छ ।

    राष्ट्रपति पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अलेक्जेन्डर वुचिचको समर्थनमा रहेको ‘युनाइटेड सर्बिया’ सूचीले ३९.१७ प्रतिशत मतसहित १०४ सिट पाउने प्रारम्भिक परिणाम छ ।

    लगभग दुई वर्षअघि रेलवे स्टेसनको छत खस्दा १६ जनाको मृत्यु भएपछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ । भ्रष्टाचार र सरकारी जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलन अन्ततः निर्वाचनमार्फत सत्तारूढ राजनीतिक शक्तिलाई पराजित गर्ने अभियानमा परिणत भयो । वुचिचले प्रारम्भिक नतिजाकै आधारमा आफ्नो पक्षले चुनाव हारेको स्वीकार गरेका छन् । यद्यपि, अन्तिम परिणाम घोषणा हुन बाँकी छ ।

    सर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनबाट अघि आएको ‘स्टुडेन्ट लिस्ट’ले स्पष्ट बहुमततर्फ अग्रसरता देखाएको छ । प्रारम्भिक परिणामअनुसार उसले १४० सिट जित्ने देखिएको छ भने वुचिच समर्थित सूचीले १०४ सिट पाउने अनुमान छ । बाँकी सिट राष्ट्रिय अल्पसंख्यक समुदायका प्रतिनिधित्व गर्ने सूचीले पाउनेछन् ।

    निर्वाचनमा ६८.७८ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो सन् १९९२ मा युगोस्लाभियाको विघटन भएयताकै उच्च मतदान भएको विवरण सार्वजनिक भएको छ । विद्यार्थी आन्दोलनको पक्षमा देखिएको परिणामलाई वुचिचको दशक लामो राजनीतिक प्रभावमाथिको ठूलो धक्काका रूपमा हेरिएको छ ।

    रेलवे स्टेसनको दुर्घटनाले कसरी जन्मायो आन्दोलन ?
    सन् २०२४ नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोवी सादस्थित रेलवे स्टेसनको कङ्क्रिटको छत खस्दा १६ जनाको मृत्यु भयो । पुनर्निर्माण गरिएको स्टेसनमा भएको दुर्घटनाले निर्माण कार्यको गुणस्तर, सरकारी निगरानी र भ्रष्टाचारबारे प्रश्न उठायो ।

    दुर्घटनालाई विद्यार्थी तथा नागरिकले संस्थागत लापरबाही र जवाफदेहिताको अभावसँग जोडे । उनीहरूले घटनाको निष्पक्ष छानबिन, जिम्मेवार व्यक्तिमाथि कारबाही र सरकारी निकायको पारदर्शिताको माग गर्दै प्रदर्शन थाले ।

    दुर्घटनापछि सुरु भएको विरोध प्रदर्शन क्रमशः देशका विभिन्न सहरमा फैलियो । प्रदर्शनकारीमाथि भएका आक्रमण र घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको मागले आन्दोलनलाई थप बल दियो । विश्वविद्यालयका विद्यार्थीले कक्षा अवरुद्ध गर्दै प्रदर्शन गरे । नागरिकका विभिन्न समूह पनि उनीहरूको समर्थनमा उत्रिए ।

    यसरी रेलवे स्टेसनको दुर्घटनाबाट सुरु भएको आक्रोश भ्रष्टाचार, सरकारी जवाफदेहिता र राजनीतिक शक्तिको प्रयोगजस्ता व्यापक मुद्दासँग जोडियो ।

    आन्दोलनको विशेषता यसको विकेन्द्रित नेतृत्व थियो । विद्यार्थीले परम्परागत राजनीतिक दलको नेतृत्वमा भर नपरी विश्वविद्यालयका विद्यार्थी सभामार्फत निर्णय गर्ने अभ्यास गरे । यसले आन्दोलनलाई कुनै एक नेतामा निर्भर हुनबाट जोगाएको थियो ।
    बेलग्रेड, नोवी साद र अन्य सहरका विश्वविद्यालयमा सुरु भएको विरोध सडक, सार्वजनिक स्थल र स्थानीय समुदायसम्म फैलियो । विद्यार्थीले किसान, स्वास्थ्यकर्मी, कलाकार र सर्वसाधारणसँग सहकार्य गर्दै भ्रष्टाचार तथा सरकारी जवाफदेहिताका विषयलाई साझा मुद्दा बनाए ।

    सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सूचना फैलाउने, प्रदर्शनको समन्वय गर्ने तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्ने अभ्यासले पनि आन्दोलनलाई निरन्तरता दिन सहयोग गर्‍यो ।

    आन्दोलन कसरी निर्वाचनसम्म पुग्यो ?
    विद्यार्थी आन्दोलनको दबाब बढ्दै गएपछि सन् २०२५ जनवरीमा तत्कालीन प्रधानमन्त्री मिलोस भुचेभिचले राजीनामा दिएका थिए । तर, यसले विद्यार्थीका माग सम्बोधन गर्न नसकेपछि प्रदर्शन जारी रह्यो । सन् २०२५ मार्चमा बेलग्रेडमा ठूलो सरकारविरोधी प्रदर्शन भयो ।

    लगभग दुई वर्षसम्म चलेको आन्दोलनपछि वुचिचले सन् २०२६ सेप्टेम्बरमा राष्ट्रपति पदबाट राजीनामा दिए । अक्टोबर २५ मा मध्यावधि संसदीय निर्वाचन भयो । यसअघि प्रधानमन्त्री वा राष्ट्रपतिको भूमिकामा रहेर सन् २०१४ देखि सर्बियाको राजनीतिमा प्रभावशाली रहेका वुचिचले निर्वाचनमा आफ्नो पक्षको पराजय स्वीकार गरे ।

    विद्यार्थी आन्दोलनले सडक प्रदर्शनलाई मात्रै निरन्तरता दिएन । उसले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने साझा सूची पनि तयार गर्‍यो । त्यसको परिणामस्वरूप ‘स्टुडेन्ट लिस्ट’ले मतदाताबाट व्यापक समर्थन पायो ।

    ‘स्टुडेन्ट लिस्ट’को जितपछि अब के हुन्छ ?
    प्रारम्भिक परिणामले ‘स्टुडेन्ट लिस्ट’लाई सदनमा बहुमत दिएको देखाए पनि नयाँ सरकार गठन र त्यसको कार्यदिशा अबका मुख्य विषय हुने बताइएको छ । निर्वाचनमा बहुमत प्राप्त सूचीले भ्रष्टाचार नियन्त्रण, सरकारी संस्थाको स्वायत्तता, सञ्चारमाध्यमको स्वतन्त्रता र सार्वजनिक निकायको जवाफदेहिताजस्ता मुद्दा अघि सारेको विद्यार्थी आन्दोलनको पृष्ठभूमि छ ।

    तर, सरकारको नेतृत्व कसले गर्ने, आन्दोलनका मागलाई कुन नीतिमा रूपान्तरण गर्ने र निर्वाचनका प्रतिबद्धता कसरी कार्यान्वयन गर्ने भन्नेबारे अन्तिम निर्णय तथा विस्तृत विवरणलाई पुष्टि गर्नुपर्नेछ ।

    आन्दोलनका क्रममा विभिन्न समूहलाई एक ठाउँमा ल्याउन सफल विद्यार्थीका लागि अबको चुनौती फरक राजनीतिक विचार भएका समर्थकबीच सहमति कायम गर्दै शासन सञ्चालन गर्नु पर्ने बताइएको छ ।

    सर्बियाको पछिल्लो निर्वाचनले सडक आन्दोलनले स्थापित राजनीतिक शक्तिलाई चुनावी चुनौती दिन सक्छ भन्ने देखाएको छ । नोवी सादको दुर्घटनापछि उठेको जवाफदेहिताको माग दुई वर्षमा देशव्यापी राजनीतिक अभियानमा बदलियो र निर्वाचनमा बहुमत प्राप्त गर्ने चरणसम्म पुग्यो ।

    अब यो परिवर्तन कति टिकाउ हुन्छ भन्ने नयाँ नेतृत्वले आफ्ना प्रतिबद्धता व्यवहारमा कति उतार्छ भन्नेमा निर्भर हुनेछ । एएडटकम

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar