ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

  • कालिका खवर
  • सोमवार, कार्तिक ९, २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ।

    बैंकले सन् २०२४ र २०२५ मा पनि ग्लोबल फाइनान्सको यही विधाको अवार्ड प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

    ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन गर्ने क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाएको जनाएको छ।

    अवार्ड समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन्।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यस सम्मानले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ। बैंकले आफ्नो प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेको छ।

    आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। यसैगरी, बैंकले सन् २०२२, २०२४ र २०२५ मा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेष्ट इम्प्लोयर’ जस्ता सम्मान पनि प्राप्त गरेको छ।

    ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकका अनुसार हाल यसका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय रहेका छन्। यी सञ्जालमार्फत बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ। यसले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar