गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, रसुवागढीसम्मै जोड्न बेलिब्रिज जडानको तयारी

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । भोटेकोशीको बाढीले सडक सम्पर्क विच्छेद भएको रसुवातर्फको मुख्य मार्गमा बेत्रावतीसम्म अस्थायी सडक ट्र्याक खोलिएको छ। ट्र्याक खुलेसँगै अहिले सडकमार्फत बेत्रावतीसम्म आवतजावत गर्न सकिने भएको छ।

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ट्र्याक खुलेसँगै सर्वसाधारणको आवतजावत सुरु भएको जानकारी दिएका छन्। यद्यपि सडक पूर्ण रूपमा व्यवस्थित भइसकेको छैन। ग्रेड मिलाउने, ग्राभेल हाल्ने तथा आवश्यक स्थानमा सडकलाई थप सुरक्षित बनाउने काम अझै जारी छ।

    सडक विभागका अनुसार बाढीका कारण क्षतिग्रस्त भएको कठिन भूगोलको सडकमा चट्टान काटेर अस्थायी ट्र्याक निर्माण गरिएको हो। बेत्रावतीसम्मको पहुँच खुलेपछि अब त्यहाँ आवश्यक पर्ने बेलिब्रिजका सामग्री ढुवानी गर्न पनि सहज भएको छ।

    बेत्रावतीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन निर्माणको काम सम्पन्न भइसकेको छ। अब पुलका सामग्री पुर्‍याएर जडानको काम अघि बढाइनेछ। सडक विभागका अनुसार सामग्री पुगेपछि करिब १० देखि १२ दिनभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    यता नुवाकोटतर्फको फाउन्डेसन तयार भइसकेकाले नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी थालिएको छ। रसुवातर्फ पनि पुल राख्ने स्थानको फाउन्डेसन निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ।

    बेलिब्रिज जडान भएपछि बेत्रावती हुँदै रसुवातर्फको यातायात सम्पर्क थप सहज हुनेछ। त्यसपछि सडक विभागको प्राथमिकता स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको मार्ग खुलाउनेतर्फ केन्द्रित हुने भएको छ। स्याफ्रुबेँसी क्षेत्रमा पनि बाढीले सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएकाले त्यहाँ आवश्यक संरचना निर्माणको तयारी भइरहेको छ।

    भोटेकोशीमा आएको बाढीले गल्छीदेखि रसुवागढीसम्मको सडकमा विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको थियो। बेत्रावती क्षेत्रमा मात्रै करिब ४ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको विवरण यसअघि सार्वजनिक भएको थियो।

    बाढीपछि रसुवा पुग्ने नियमित सडक सम्पर्क टुट्दा स्थानीय बासिन्दासँगै राहत तथा उद्धारमा समेत समस्या भएको थियो। अहिले तत्कालका लागि स्थायी पुनर्निर्माणभन्दा अस्थायी ट्र्याक र बेलिब्रिजमार्फत सडक सम्पर्क पुनःस्थापित गर्ने कामलाई प्राथमिकता दिइएको छ।

    सडक विभागले बेत्रावतीसम्मको ट्र्याक खुल्नुले रसुवागढीसम्मको सडक पुनः सञ्चालन गर्ने प्रक्रियामा महत्वपूर्ण आधार तयार भएको जनाएको छ। अब बेलिब्रिज जडान र बाँकी क्षतिग्रस्त खण्डमा सडक निर्माणको काम पूरा भएपछि रसुवासँगको मुख्य सडक सम्पर्क क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar