एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीद्वारा सफलतापूर्वक आरोहण गरेका छन्।नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र दिगो पर्यटन परियोजना (एसटीपी) को संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षक गरी ३५ जनाले उक्त पिकको सफल आरोहण गरेका हुन् ।

    व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्नका लागि आवश्यक ज्ञान, सीप र उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमअन्तर्गत सहभागीले दङ्गा पिक आरोहण गरेका नेपाल प्रभातारण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तालिमका क्रममा सहभागीलाई काठमाडौँमा सैद्धान्तिक ज्ञान, चट्टान आरोहणलगायतका प्रारम्भिक तथा तयारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । त्यसपछि ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा रहेको दाङ्गा पिकमा लगेर हिमाली वातावरणमा प्रत्यक्ष अभ्यास गराइएको थियो ।

    उच्च हिमाली क्षेत्रमा पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमबारे प्रत्यक्ष अनुभव दिलाउनु तालिमको मुख्य उद्देश्य रहेको एनएमएले जनाएको छ । हिमालमा पुगेर अभ्यास गर्दा सहभागीले हिमाली भूगोल, आरोहण प्रविधि, सुरक्षा र कठिन परिस्थितिमा काम गर्ने सीपलाई व्यवहारमै प्रयोग गर्ने अवसर पाएको सहभागीहररुले प्रतिक्रिया दिएका छन् । एनएमए अध्यक्ष शेर्पाका अनुसार दङ्गा पिक आरोहण तालिमको एउटा महत्वपूर्ण हिस्सा हो । ६ हजार मिटरभन्दा अग्लो हिमालमा गराइने यस्तो अभ्यासले सहभागीको प्राविधिक क्षमता परीक्षण गर्नुका साथै आगामी दिनमा व्यावसायिक पर्वतीय पथप्रदर्शकका रूपमा काम गर्न आवश्यक आत्मविश्वास र दक्षता बढाउने पर्वतारोहीहरु तेम्बा छिरी शेर्पाको भनाइ छ ।

    दोस्रो ग्रीष्मकालीन सीप विकास तालिम छ जना प्रशिक्षकसहित २९ जना सहभागीको सहभागितामा सञ्चालन भएको थियो। तालिम तथा दङ्गा पिक आरोहण सफलतापूर्वक सम्पन्न गरेपछि एनएमएको प्रशिक्षण टोली काठमाडौँ फर्किएको एनएमएका दीपक गुरुङले जानकारी दिए । यो तालिम सीटीईभीटीबाट स्वीकृत एक हजार ६ सय ९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शक पाठ्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो । उक्त पाठ्यक्रममा पर्वतीय पथप्रदर्शकका लागि आवश्यक सैद्धान्तिक ज्ञानसँगै चट्टान आरोहण, हिमाली क्षेत्रमा गरिने अभ्यास र वास्तविक पर्वतीय वातावरणमा काम गर्ने सीपलाई समेटिएको छ।

    एनएमएले तालिम सफलतापूर्वक सम्पन्न गरी दङ्गा पिकको आरोहण गर्न सफल सबै सहभागीलाई बधाई दिएको छ। सङ्घले तालिम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ जना प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षण टोलीप्रति समेत आभार व्यक्त गरेको छ । नेपालको पर्वतीय पर्यटन विस्तारसँगै दक्ष र व्यावसायिक पथप्रदर्शकको आवश्यकता बढिरहेका बेला यस्ता व्यावहारिक तालिमले हिमाली पर्यटनलाई थप सुरक्षित, व्यवस्थित र व्यावसायिक बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar