जिलीको जीकर ७ एक्सले पार गर्‍यो २ लाख उत्पादनको माइलस्टोन, २०२७ मोडलमा नयाँ ब्याट्री आउने

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । जिलीको स्वामित्वमा रहेको विद्युतीय सवारी ब्रान्ड जीकरको लोकप्रिय ७ एक्स इलेक्ट्रिक एसयूभीले विश्व बजारका लागि २ लाख युनिट उत्पादनको महत्वपूर्ण माइलस्टोन पार गरेको छ। सेप्टेम्बर ८ मा यो उपलब्धि हासिल भएको हो।

    मास प्रोडक्सन सुरु भएको दुई वर्ष पनि पूरा नहुँदै ७ एक्सले २ लाख युनिट उत्पादनको आँकडा पार गरेको कम्पनीले जनाएको छ। यो संख्या ग्राहकलाई डेलिभरी गरिएको गाडीको नभई उत्पादन लाइनबाट बाहिरिएका कुल युनिटको हो। जुलाई २०२६ को अन्त्यसम्म ७ एक्सको विश्वव्यापी डेलिभरी करिब १ लाख ८० हजार युनिट पुगेको तथ्यांक छ।

    २०२७ मोडलमा ८५ किलोवाट आवरको ब्याट्री

    जीकरले ७ एक्सको २०२७ मोडल सन् २०२६ को अन्तिम त्रैमासिकमा बजारमा ल्याउने तयारी गरेको छ। नयाँ मोडलमा बाहिरी तथा भित्री रंगका थप विकल्पसँगै ८५ किलोवाट आवरको एलएफपी ‘एजिज गोल्डेन ब्रिक’ ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ।

    हालको ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीले सीएलटीसी मापदण्डअनुसार अधिकतम ६२० किलोमिटरसम्मको रेन्ज दिने गर्छ। नयाँ ८५ किलोवाट आवरको ब्याट्रीको आधिकारिक रेन्ज भने जीकरले सार्वजनिक गरिसकेको छैन। उद्योग क्षेत्रका अनुमानअनुसार यसको सीएलटीसी रेन्ज ७०० किलोमिटरभन्दा बढी हुन सक्नेछ।

    जीलीले गोल्डेन ब्रिक ब्याट्रीमा उच्च सुरक्षा प्रविधि प्रयोग गरिएको र यसको सर्भिस लाइफ १० लाख किलोमिटरसम्म तथा ३ हजार ५०० पटकसम्म चार्ज गर्न सकिने दाबी गरेको छ।

    शक्तिशाली मोटर र ९०० भोल्ट आर्किटेक्चर

    जीकर ७ एक्स जिलीको सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (SEA) प्लेटफर्ममा आधारित छ। चिनियाँ बजारको सिंगल-मोटर संस्करणले ३७० किलोवाटसम्मको शक्ति उत्पादन गर्छ भने डुअल-मोटर एडब्ल्यूडी संस्करणले ५८५ किलोवाटसम्मको शक्ति प्रदान गर्छ।

    यसको पर्फर्मेन्स भेरियन्टले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति २.९८ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ।

    अपडेटेड ७ एक्समा ९०० भोल्ट विद्युतीय आर्किटेक्चर, छतमा राखिएको लाइडार र एनभिडिया ड्राइभ थोर-यु कम्प्युटिङ हार्डवेयर उपलब्ध हुने बताइएको छ। चालक सहायता प्रणाली एल२ वा एल२ प्लस स्तरको हुने भएकाले यसलाई पूर्ण स्वचालित एल३ सवारी भने मानिँदैन।

    २०२७ मोडलमा पावर एड्जस्ट गर्न मिल्ने पछाडिको सिट, इन-बिल्ट रेफ्रिजरेटर तथा २० इन्चका मल्टी-स्पोक आल्मुनियम ह्वीलसहितको अतिरिक्त इक्विपमेन्ट प्याकेज पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

    विश्व बजारमा विस्तार

    जीकर ७ एक्स चीनबाहेक युरोप, मेक्सिको, अष्ट्रेलियालगायत ५० भन्दा बढी देश तथा क्षेत्रमा बिक्री हुँदै आएको छ।

    चीनमा ७ एक्सले टेस्ला मोडल वाई, निओ एल६ र एक्सपेङ जी६ लगायतका विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गर्दै आएको छ। जुलाई २०२६ मा चीनको घरेलु बजारमा ७ एक्सको डेलिभरी १० हजार २५३ युनिट पुगेको तथ्यांक छ।

    नयाँ ८५ किलोवाट आवरको एलएफपी ब्याट्रीसहितको २०२७ मोडलले रेन्ज, लागत र प्रदर्शनका हिसाबले ७ एक्सको प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar