सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २२ लाख बढी आर्थिक सहयोग

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो।

    बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। बैंकले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलाई समेत आर्थिक सहयोग गर्दै आएको जनाएको छ।

    बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउ लगायतका खाद्यान्न सामग्रीसमेत वितरण गरेको जनाएको छ।

    बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

    सिटिजन्स बैंकका अनुसार हाल बैंकका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ रहेका छन्। बैंकले २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar