MAXUS नेपालद्वारा विपद् प्रभावित समुदायलाई ८० लाख बराबरको राहत सहयोग

  • कालिका खवर
  • शनिबार, भदौ २०, २०८३
  • काठमाडौं । विपद् प्रभावित समुदायको सहयोगका लागि MAXUS नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग प्रदान गरेको छ। SAIC MAXUS China को सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा MAXUS नेपालले आर्थिक सहयोगसँगै स्वच्छ खानेपानी र आवश्यक राहत सामग्री उपलब्ध गराएको हो।

    MAXUS नेपालले केही दिनअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको थियो। त्यसबाहेक त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरिएको कम्पनीले जनाएको छ।

    यसअन्तर्गत नुवाकोटका दुईवटा होल्डिङ सेन्टरमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ। सौर्य ऊर्जामा आधारित उक्त प्रणाली श्री भैरम माध्यमिक विद्यालय, त्रिशूली र विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको हो। दुवै प्रणालीले प्रति घण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्छन्।

    श्री भैरम माध्यमिक विद्यालयमा करिब ३०० परिवार र त्रिशूली प्राथमिक विद्यालयमा करिब २०० परिवार अस्थायी रूपमा आश्रय लिइरहेका छन्। पानी शुद्धीकरण प्रणालीले उनीहरूलाई सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको भनाइ छ। विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरूले समेत यसको लाभ लिन सक्नेछन्।

    राहत सामग्रीअन्तर्गत डसना, सिरानी, तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका कपडालगायतका अत्यावश्यक सामग्री करिब ४०० जनालाई वितरण गरिएको छ।

    राहत वितरण तथा पानी शुद्धीकरण प्लान्ट जडानमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायत पदाधिकारीको प्रत्यक्ष सहभागिता रहेको थियो।

    MAXUS नेपालले उक्त राहत कार्यक्रम कम्पनीको सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar