गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश, १० प्रतिशत बोनस र १० प्रतिशत नगद

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    विकास बैंकको भदौ १८ गते बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    बैठकले हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ। नगद लाभांशमा प्रस्तावित बोनस शेयरको करसमेत समावेश गरिएको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै उक्त लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

    हाल ६ अर्ब २ करोड १३ लाखभन्दा बढी चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित १० प्रतिशत बोनस शेयर स्वीकृत भई वार्षिक साधारणसभाबाट पारित भएपछि चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

    काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय तथा ५१ वटा एटीएममार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar