लक्ष्मी सनराइज बैंकद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्ले धेरै परिवारका घर, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर पुर्‍याएको बैंकले जनाएको छ।

    तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन रूपमा साथ र सहयोग आवश्यक रहेको भन्दै बैंकले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।

    बैंकले आफ्नो योगदानमार्फत प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन सहयोग पुग्ने तथा पुनर्निर्माणका प्रयासलाई अघि बढाउन सञ्चालन भइरहेका सामूहिक राहत र पुनःस्थापना अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    लक्ष्मी सनराइज बैंकले यस विपद्का कारण आफ्ना आफन्त, घर तथा जीविकोपार्जन गुमाएका सम्पूर्ण नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को कठिन समयमा उद्धार, राहत तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षा निकाय, उद्धारकर्मी, राहतकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको जनाएको छ।

    बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आवश्यक पहलमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar