बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सूर्यज्योति लाइफको १ करोड सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

    कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त सहयोग रकम उपलब्ध गराएको जनाएको छ।

    कम्पनीले विगतमा पनि राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा आर्थिक तथा विविध प्रकारका सहयोग गर्दै आएको उल्लेख गर्दै हालको विपद्का बेला प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको एक करोड रुपैयाँको सहयोगले प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    उक्त रकमले बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा समेत सहयोग पुग्ने कम्पनीको भनाइ छ।

    विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र तथा सबै सरोकारवाला निकायबीच सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ।

    सूर्यज्योति लाइफले राष्ट्रलाई आवश्यकता परेको अवस्थामा आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति पनि आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar