किया सोरेन्टो हाइब्रिड फेसलिफ्ट नेपाल आउँदै, मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । कोरियन अटोमोबाइल ब्रान्ड कियाको लोकप्रिय एसयूभी सोरेन्टो हाइब्रिडको फेसलिफ्ट मोडल नेपाल आउने भएको छ। नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले किया सोरेन्टो एसयूभीको नयाँ संस्करण नेपाल ल्याउने तयारी थालेको हो।

    कम्पनीले नयाँ सोरेन्टो नेपाल भित्र्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेको जनाएको छ। चाँडै बिक्री सुरु गर्ने तयारीस्वरूप कम्पनीले गाडीको अधिकतम खुद्रा मूल्यसमेत सार्वजनिक गरेको छ। नयाँ किया सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

    कियाले चौथो जेनेरेसनको सोरेन्टो फेसलिफ्टमा डिजाइनका हिसाबले व्यापक परिवर्तन गरेको छ। नयाँ सोरेन्टो कियाको नयाँ ‘अपोजिट्स युनाइटेड’ डिजाइन ल्याङ्ग्वेजमा आधारित रहेको छ, जसका कारण यसको बाह्य तथा आन्तरिक बनावटमा उल्लेखनीय परिमार्जन गरिएको छ।

    नयाँ सोरेन्टोमा किया ईभी९बाट प्रेरित ठाडो एलईडी हेडलाइट तथा स्टार म्याप डीआरएल दिइएको छ। यसले पुरानो मोडलको तुलनामा गाडीलाई अझ प्रिमियम, बोल्ड र आधुनिक देखाएको कम्पनीको भनाइ छ।

    गाडीको बोनेटको अगाडिको भागलाई थप ठाडो र सीधा बनाइएको छ भने बम्परको तल्लो भागमा फराकिलो स्किड प्लेट तथा एयर इन्टेक राखिएको छ। साइड प्रोफाइलमा क्लिन र बोल्ड बडी लाइन दिइएको छ। यसमा नयाँ डिजाइनका १८ देखि २० इन्चसम्मका ड्युअल टोन डायमण्ड कट अलोय ह्वील उपलब्ध छन्।

    पछाडिको भागमा दुवैतर्फ रहेका टेललाइटलाई माथिल्लो भागबाट जोडिएको छ। नयाँ बम्पर तथा परिमार्जित स्किड प्लेटले एसयूभीको पछाडिको लुकलाई थप क्लिन र मस्कुलर बनाएको छ।

    किया सोरेन्टो हाइब्रिड ६ र ७ सिटको विकल्पमा उपलब्ध हुनेछ। यसको क्याबिनको प्रमुख आकर्षण ड्यासबोर्डमा रहेको एउटै प्यानलभित्र जोडिएको ड्युअल १२.३ इन्चको कर्भ डिजिटल डिस्प्ले हो। यसमा इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट स्क्रिनलाई एकसाथ जोडिएको छ।

    सेन्टर कन्सोलमा परम्परागत गियर लिभरको सट्टा आधुनिक सिफ्ट-बाइ-वायर रोटरी डायल दिइएको छ। यसले सेन्टर कन्सोलमा कप होल्डर, वायरलेस चार्जिङ प्याड तथा अन्य स्टोरेजका लागि पर्याप्त ठाउँ उपलब्ध गराएको छ।

    क्याबिनमा नाप्पा लेदर, सिन्थेटिक सुएड तथा उच्च गुणस्तरका सफ्ट-टच सामग्री प्रयोग गरिएको छ। यसमा परिमार्जित ६४ कलर एम्बियन्ट मुड लाइटिङ, हेडअप डिस्प्ले तथा भेन्टिलेटेड इलेक्ट्रिक सिटजस्ता फिचर पनि उपलब्ध छन्।

    फेसलिफ्ट सोरेन्टोको पावरट्रेन भने पुरानै मोडलबाट निरन्तरता दिइएको छ। यसमा १.६ लिटरको टी-जीडीआई टर्बो पेट्रोल इन्जिनसँगै ४४.२ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। हाइब्रिड प्रणालीमा १.४९ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

    इन्जिन र मोटरले संयुक्त रूपमा २२७ हर्सपावर तथा २५० न्युटन मिटर टर्क उत्पादन गर्ने बताइएको छ। कम्पनीले सोरेन्टोलाई पहिलो पटक अल-ह्वील ड्राइभ विकल्पमा समेत उपलब्ध गराउने तयारी गरेको छ।

    सुरक्षाका हिसाबले पनि नयाँ सोरेन्टो अत्याधुनिक फिचरले सुसज्जित छ। यसमा ७ एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यू मोनिटर तथा लेन फलोइङ असिस्टलगायतका आधुनिक सुरक्षा प्रविधि उपलब्ध छन्।

    भारतीय बजारमा नयाँ किया सोरेन्टो यही शुक्रबार सार्वजनिक हुने तयारीमा रहेको छ। नेपालमा भने यो एसयूभी कहिले औपचारिक रूपमा सार्वजनिक हुन्छ भन्ने घोषणा भइसकेको छैन। यद्यपि, नेपाली बजारमा यही फेस्टिभ सिजनबाट यसको बिक्री सुरु हुन सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar